कठमाडौं- एमालेबाट विभाजित भइ बनेको दल एकीकृत समाजवादीमा आवद्ध हुन दल दर्ताका लागि निवेदन दिएको भोलिपल्ट पुगेका एमालेका दुई सांसदहरूले नयाँ दल रोज्न सक्ने भएका छन्।
सर्वोच्च अदालतको मंगलबारको आदेशपछि प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टलले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी रोज्न पाउने भएका हुन्।
न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले भारतमा उपचाररत रहेका झलनाथ खनालको हकमा नेपाली दूतावासमार्फत् सनाखत गराएको र भदौ ९ गते दल दर्ताका क्रममा सनाखत गराउँदा पाण्डे र भट्टको नामा समावेश हुने/नहुने कुनै निर्णय निर्वाचन आयोगले नगरेको भन्दै सर्वोच्चले यसको परिणामस्वरुप दलीय आवद्धको हैसियतमा असर पर्ने देखिएकाले उनीहरूलाई रोजेको पार्टीमा जाने बाटो खुलाएको हो।
आयोगमा उनीहरु दल दर्ताका लागि निवेदन दिएको भोलिपल्ट मात्र पुगेका थिए। आयोगले नयाँ दलको मान्यता दिनका लागि सनाखत लिँदा उनीहरुको नाम सुरुमा निवेदन दिने व्यक्तिहरुको सूचीमा नभएको भन्दै सनाखत गराएको थिएन। उनीहरुको नाम नयाँ पार्टीमा समावेश नभएमा सांसद पद गुम्ने भएकाले उनीहरुले अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन्।
सर्वाेच्चले मुद्दा नटुंगिएसम्म उनीहरूलाई कारबाही नगर्न समेत अन्तरिम आदेश दिएको छ। दलमा आवद्ध हुन पाउने हकमा असर पर्नेगरि कुनै कारबाही नगर्न सर्वोच्चले एमाले लगायत विपक्षीका नाममा अन्तरिम आदेश दिएको हो। अब उनीहरूले नयाँ पार्टी रोजेमा सांसद पद जाने छैन। यस्तै, नयाँ पार्टीमा आवद्ध हुनका लागि निवेदन दिएको भनेर एमालेले कारबाही समेत गर्न पाउने छैन।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।