कठमाडौं- नेकपा (एमाले) छाडेर एकीकृत समाजवादी पार्टी रोजेका प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टलाई मुद्दा नटुंगिएसम्म कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
दलमा आवद्ध हुन पाउने हकमा असर पर्नेगरि कुनै कारबाही नगर्न सर्वोच्चले एमाले लगायत विपक्षीका नाममा अन्तरिम आदेश दिएको हो। मंगलबार न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।
आयोगमा उनीहरु दल दर्ताका लागि निवेदन दिएको भोलिपल्ट मात्र पुगेका थिए। आयोगले नयाँ दलको मान्यता दिनका लागि सनाखत लिँदा उनीहरुको नाम सुरुमा निवेदन दिने व्यक्तिहरुको सूचीमा नभएको भन्दै सनाखत गराएको थिएन। उनीहरुको नाम नयाँ पार्टीमा समावेश नभएमा सांसद पद गुम्ने भएकाले उनीहरुले अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए।
अब उनीहरूले नयाँ पार्टी रोजेमा सांसद पद जाने छैन। यस्तै, नयाँ पार्टीमा आवद्ध हुनका लागि निवेदन दिएको भनेर एमालेले कारबाही समेत गर्न पाउने छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।