काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले कालिकोट नरहरिनाथ गाउँपालिका–९ की वडा सदस्य मुना सार्कीका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न विशेष छानबिन समिति गठन गरिएको बताएका छन्।
राष्ट्रियसभाको आइतबारको बैठकमा गृहमन्त्री थापाले महिला वडा सदस्य सार्कीको हत्यालगायत महिला हिंसा हुन नदिन सरकारले विशेष अभियान नै सञ्चालन गरिरहेको स्पष्ट पारे।
राष्ट्रिय सभाका सांसदहरुले महिला वडा सदस्य सार्कीको हत्यारालाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।
गृहमन्त्री थापाले हत्या, महिला हिंसालगायतका घटना हुन नदिन सरकार सचेत रहेको पनि स्पष्ट पारे। उनले सरकार अपराध नियन्त्रण तथा लागूऔषध दुव्र्यसनीलाई निस्तेज पार्न लागि परेको बताए।
गृहमन्त्री थापाले सरकारले विकास, निर्माणको काममा ढिलाई गर्ने ठेकेदारहरुलाई कडा कारबाही गर्न विशेष अभियाननै सञ्चालन गरिरहेको पनि सांसदहरुलाई अवगत गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।