रसुवा– नेपाल र चीनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढीमा बहुमुल्य जडिबुटी यार्सागुम्बासहित ४ जना पक्राउ परेका छन्।
नेपालबाट चीनको केरुङतर्फ जाँदै गरेको ना६ख ४७८५ नम्बरको कन्टेनरमा लुकाई–छिपाई लैजाँदै गरेको ८ सय १० ग्राम यार्सागुम्बा सीमा नाकामा तैनाथ शसस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बरामद गरेको शसस्त्र प्रहरी बल, रसुवाका प्रहरी नायब उपरिक्षक प्रकाश वाग्लेले बताए।
पक्राउ पर्नेमा रसुवाको नौकुण्ड गाउँपालिका–२ का १९ वर्षीय मंगल तामाङ, गोसाईकुण्ड गाउँपालिका–१ थुमनका २९ वर्षीय जिलबहादुर घले, २६ वर्षीय सूर्यबहादुर तामाङ र ३१ वर्षीय इमान घले रहेको प्रहरीले जनाएको छ।
यार्सागुम्बा सहित पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धानका लागि रसुवागढीबाट सदरमुकाम धुन्चे ल्याइँदै गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरिक्षक ओमप्रकाश वाग्लेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।