फाइल तस्बिर।
काठमाडौं- नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले एमसीसीसँगको सम्झौताको विरोध गरेका छन्। सोमबार आयोजित विरोध प्रदर्शनपछिको सभामा सम्बोधन गर्दै उनले डलर चाहियो कि आफ्नो धर्ती भन्दै प्रश्न समेत गरेका छन्।
'तपाईं देश रोज्नुहुन्छ कि एमसीसी रोज्नुहुन्छ? जनताको अधिकार रोज्नुहुन्छ कि अमेरिकीहरुको गुलामी? पैसा रोज्नुहुन्छ कि स्वभाविमान? तपाईंलाई डलर चाहियो कि आफ्नो धर्ती चाहियो? नेपालमा एकचोटी त्यो समय आउँछ। ल्याउनुपर्छ। हामी तयार छौं', उनले भने।
उनले यस सन्दर्भमा सबै पार्टीभित्रका इमानदार नेता, सबै इमानदार नागरिकहरु तथा श्रमजीवी जनताहरु एकताबद्ध हुनुपर्ने बताए। उनले देशलाई बचाउनका लागि एक ढिक्का भएर उठ्ने समय ल्याउनुपर्ने भएकाले त्यसका लागि आफ्नो पार्टी जुनसुकै मूल्य चुकाउन रहेको बताए।
एमसीसीमार्फत् विकासका लागि पैसा आउँछ नि भन्नेहरुलाई विप्लवले पैसाले मात्रै समृद्धि नआउने प्रतिक्रिया दिए। 'विकास र समृद्धिको बाधक पैसा होइन। सत्ता हो सत्ता', उनको भनाइ छ।
उनले प्रतिबन्धकै बेलामा आफूहरुले एमसीसीसँगको सम्झौता पढेको बताए। 'सबै हेर्याैँ, बुझ्यौं। हामी प्रतिबन्ध हुँदाखेरी पनि जोजो साथीहरु संसद्मा लड्नुभयो, चाहे सडकमा लड्नुभयो, टेलिभिजनमा लड्नुभयो, सामाजिक सञ्जालमा लड्नुभयो। अन्य मोर्चाहरुबाट लड्नुभयो। हामीले ऐक्यबद्धता जाहेर गर्याैं', उनले भने।
आफूहरुले केपी ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेको भन्दै त्यसलाई इमानदारीपूर्वक पालना गर्न तयार रहेको बताए। राज्यले पनि पालना गर्नुपर्ने उनको भनाइ छ।
पत्रकारहरुले 'वार्तामा त आउनुभयो बन्दुक खोइ?' भनेर सोध्ने गरेको भन्दै उनले अहिले बन्दुकको कुरा नगर्न सुझाए। 'अहिले बन्दुकको कुरा गर्ने होइन', उनले भने, 'हामीसँग नेपालका आमाहरु छन्। बन्दुकभन्दा बलियो शक्ति आमाहरु हामीसँग छन्। हामीले यो भनेका छौं। हामीसँग गाउँगाउँमा दाजुभाइहरु छन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।