काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलले संसदीय दलका पदाधिकारीहरुको टुंगो लगाएको छ। सोमबार हेटौंडामा बसेको दलको बैठकले उपनेतामा कृष्णप्रसाद खनाललाई चयन गरेको छ। त्यस्तै प्रमुख सचेतकमा मुनु सिग्देल, सचेतकमा बसुन्धरा हुमागाइँलाई सर्वसम्मतीले चयन गरिएको छ।
बागमती प्रदेशमा गठबन्धनको सरकार बनाउनका लागी गठबन्धनमा सामेल भएका दलहरु नेकपा(माओवादी केन्द्र) र नेपाली कांग्रेसका नेताहरुसँग समन्वय गर्नका लागी दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई जिम्मा दिने निर्णय पनि गरिएको छ। त्यस्तै, दलको सरकार निर्माण भएपश्चात सरकारको तर्फबाट गर्ने न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न माधब प्रसाद पौडेल, बसन्त प्रसाद मानन्धर, मिना ज्ञवाली र बसुन्धरा हुमागाइँलाई जिम्मा दिइएको प्रमुख सचेतक मुनु सिग्देलले जानकारी दिइन्।
नेकपा एमाले विभाजन गरी गठन भएको एकीकृत समाजवादीका बागमती प्रदेश सभामा १३ जना प्रदेश सभा सदस्य छन्। नेकपा (एमाले) का ५६ जना प्रदेश सभा सदस्यमध्ये १३ जना प्रदेश सभा सदस्यले एकीकृत समाजवादी रोजेका हुन्।
१३ जना प्रदेश सांसदहरुले एकीकृत समाजवादी रोजेपछि एमाले उपाध्यक्ष समेत रहेकी अष्टलक्ष्मी शाक्यको वर्तमान सरकार अल्पमतमा परेको छ।
नेकपा एकीकृत समाजवादी प्रदेश संसदीय दलको सोमबार बसेको बैठकले बहुमत गुमाइ सकेको सरकारलाई बर्तमान अबस्थामा बिकास निर्माणका नयाँ कार्यक्रमहरु स्वीकृत गर्न, निश्चित शर्तका आधारमा बितरण गर्ने गरी राखिएको अबण्डा रकम निकासा नगर्न र आर्थिक अनुशासनलाई कायम गर्न प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यलयलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।