काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रदेश २ को संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गरेको छ।
एकीकृत समाजवादीका सांसद अशोककुमार यादवले दलको नेतामा महतो सर्वसम्मत चयन भएको जानकारी दिए। उनका अनुसार प्रदेश निर्वाचन कार्यालयमा सनाखत गरेलगत्तै महतोलाई नेता बनाउने निर्णय एकीकृत समाजवादीले गरेको थियो। आज बसेको सांसद तथा केन्द्रीय सदस्यहरुको बैठकबाट समेत उक्त निर्णय पारित भएको यादवले बताए।
दलको नेता चयन गरेको विषयमा प्रदेशसभा सचिवालयलाई पनि जानकारी गराइसकिएको छ। उनका अनुसार दलको प्रमुख सचेतक र सचेतक भने अझै चयन गर्न बाँकी रहेको छ।
नेकपा (एमाले) एक हुँदा नै महतो संसदीय दलको नेता थिए। उनले एकीकृत समाजवादी रोजेपछि अब एमालेले प्रदेश २ संसदीय दलको नेता चयन गर्नुपर्नेछ। प्रदेश २ मा एमालेका २२ सांसद मध्ये १३ सांसदले एकीकृत समाजवादी रोजेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।