काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीलाई कहिल्यै नफुटाउने प्रतिज्ञा गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति, भक्तपुरले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले कम्युनिस्ट र नेपाली कांग्रेसको भन्दा फरक विचारधारा बनाएर हिँडेको राप्रापा अब कहिल्यै नफुट्ने बताएका हुन्। थापाले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई नेताको नभइ नीतिको पछि लाग्न आग्रह गरे।
उनले आगामी कार्तिक २७ गतेदेखि काठमाडौंमा पार्टीको केन्द्रीय महाधिवेशन हुने भन्दै नयाँ विधान अनुसार महाधिवेशन गर्न लागेको बताए।
‘हाम्रो पार्टीको केन्द्रीय महाधिवेशन आगामी २०७८, कार्तिक २७ गतेदखि काठमाडौंमा हुँदैछ, पार्टीको र महाधिवेशन नयाँ विधानअनुसार गरिनेछ’, उनले भने, ‘७५३ वटै गाउँपालिका र नगरपालिकाका अध्यक्षहरु महाधिवेशनका प्रतिनिधिहरु हुनेछन्। प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट कम्तिमा ९ जनाको दरले सक्रिय सदस्यहरुमध्येबाट महाधिवेशन प्रतिनिधि छनोट भएर आउनेछन्।’
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति समशेर जबराले कम्युनिस्ट सरकारलाई विस्थापित गरेर आएको नयाँ गठबन्धनले २ महिना बितिसक्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको बताए। उनले नेपालका ठूला पार्टीबाट जनताले मुक्ति खोजेको बताए।
अध्यक्ष जबराले यो मुलुकलाई भ्रष्टले चलाउन नसक्ने बताए। उनले अब राष्ट्रिय प्रजातन्त्र पार्टीले इमान र धर्म भएको नेतृत्व प्रदान गरी सरकार चलाउने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।