काठमाडौं– नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशको संसदीय दलको बैठक बस्दै छ। दिउँसो २ बजे संसदीय दलको बैठक बस्न लागेको नेकपा एसका सांसद प्रकाश रावलले जानकारी दिए।
आजको बैठकले प्रदेश संसदीय दलको नेता चयन गर्न सक्ने उनले जानकारी दिए। दलको नेताका लागि विभिन्न नेताहरुले आकांक्षा देखाएका छन्।
तर, नेकपा एसको संसदीय दलको नेतामा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी चयन हुन सक्ने सम्भावना रहेको एक सांसदले जानकारी दिए। ‘दलको नेता चयनका लागि सर्वसम्मत नै हुन्छ होला, ’ती सांसदले भने, ‘आकांक्षा एकदुईजना साथीहरुले राखे पनि बहुमत सांसद सोडारीकै पक्षमा रहेकाले उनी चयन हुन सक्छन्।’
नेकपा एस सुदूरपश्चिमको संसदीय दलको नेताका लागि सोडारी, सांसद तारालामा तामाङ, मन्त्री पूर्णा जोशीलगायतले आकांक्षा देखाएका छन्।
सभामुखसहित २५ जना प्रदेशसभा सदस्य रहेको एमाले विभाजन भन्दा पहिले प्रदेशको सबै भन्दा ठूलो दल थियो। अहिले एमाले सभामुखसहित ११ सदस्यमा सीमित भएर चौथो दल भएको छ भने १४ सांसदसहित नेकपा एस सबै भन्दा ठूलो दल भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।