काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्। प्रतिनिधि सभा बैठकमा जारी अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख सापकोटाले आज (सोमबार) सर्वदलीय बैठक बोलाएका हुन्।
बैठक सोमबार दिउँसो २ः३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से भवनमा बस्ने सभामुखको सचिवालयले जनाएको छ।
गत बुधबारदेखि सुरु भएको प्रतिनिधि सभाको नवौं अधिवेशनअन्तर्गका बैठकहरुमा एमाले सांसदहरुले निरन्तर नाराबाजी गरेर सदनका कारबाही अवरुद्ध गर्ने प्रयास गर्दै आएका छन्।
एमालेका सांसदहरुको नाराबाजीकै बीच यसअघि बुधबारको बैठकमा राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने ल्याएको अध्यादेश पेस भएको थियो। यस्तै, शुक्रबारको बैठकमा बजेटसम्बन्धी अध्यादेश स्वीकृत भएका थिए भने अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयक पेस गरेका थिए।
आइतबार बसेको बैठकमा प्रतिस्थापन विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेपनि एमाले सांसदहरुको नाराबाजीका कारण सम्भव भएन।
प्रतिनिधि सभाको अर्को बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ।मंगलबारको बैठक सहज रुपमा सञ्चालन गर्ने गरी सहमति निर्माणका लागि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।