काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विरोध खतिवडाले विश्वकप फुटबलमा नेपाल सहभागी नभए पनि उत्सब मनाउन संसद् भवनको पानी ट्यांकीमा डिजिटल फुटवल राख्न सुझाव दिए।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले विश्व नै विश्वकप फुटवलमा रमाएको भन्दै नेपालले पनि स्वागत गर्नुपर्ने बताए।
‘विश्वकपमा नेपाल सहभागी हुन सकेन, नेपाल कसरी सहभागी हुने भन्नेबारे खेलकुद मन्त्रालय के गरिरहेको छ,’ उनले भने, 'यसमा सरकारको ध्यान जाओस्, संसद् भवनमा रहेको पानी ट्यांकी फुटवल जस्तै देखिन्छ, त्यसलाई डिजिटल बनाएर विश्वकप २०१८ को स्वागत गर्छ भनी लेखौं।’
गणेशमान मार्ग निर्माणमा अनियमतिता
सांसद खतिवडाले निर्माणाधीन गणेशमान मार्गमा जिल्ला विकास समिति काठमाडौंले कौडीको भाउमा ढुङ्गा लिलामी गरी अनियमितता गरेको आरोप लगाए। ‘गणेशमान मार्गको ८३ हजार घनमिटर ढुङ्गा प्रतिघनमिटर ३ सय ६५ रुपैयाँमा लिलाम गरियो, जसको मूल्य १८ सय रुपैयाँ घनमिटरभन्दा माथि हुन्छ,’ उनले भने, ‘उक्त क्षेत्रमा वाल र अन्य कार्यका लागि पुनः ढुङ्गा आवश्यकता हुदाँ २४ सय रुपैयाँ घनमिटरमा गजुरीबाट किनेर ल्याउनुपर्ने भएकाले यसलाई रोक्न सरकारको ध्यान जाओस्।'
उनले कानुनी हैसियत नभएका व्यक्ति लिलामीमा सहभागी भएको आरोप पनि लगाए। पूर्व माननीय र उनका पिए लिलाम गर्ने निर्णयमा सहभागी भएको उनले आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।