काठमाडौं– संघीय संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखले 'समान व्यवहार' नगरेका कारण आफूहरुले संसद् बैठकलाई अवरुद्ध पार्दै आएको र अवरोधलाई अझै जारी राख्ने जवाफ दिएको छ।
आइतबार प्रतिनिधि सभाको पहिलो बैठक १५ मिनेटका लागि स्थगित भएपछि सभामुख अग्नि सापकोटा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँगको छलफलमा एमाले सांसद्हरुले सभामुखको व्यवहार असमान भएकाले अवरोध कायम राख्ने जवाफ दिएका हुन्।
आइतबारको छलफलमा एमालेका तर्फबाट एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारी सहभागी थिए।
सभामुख सापकोटा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री कार्कीसँग भएको कुराकानीबारे जानकारी दिँदै एमाले सचेतक चौधरीले आफूहरुले सभामुखको व्यवहारको बारे कुरा उठाएको बताइन्।
‘उहाँहरुसँगको छलफलमा हामीले प्रष्ट रुपमा हामीप्रति समान व्यवहार नभएकाले संसद अवरोध कायमै राख्छौं भन्ने आफ्नो कुरा राख्यौं,’एमाले सचेतक चौधरीले भनिन्। छलफलमा सभामुखले आफूले सहमति र संवाद गर्ने भन्दै सोमबार शीर्ष नेताहरुसँग छलफल गर्ने बताएका थिए।
एमाले सचेतक चौधरीले एमालेले उठाएको विषयवस्तु विधि, नियमावालीको रहेको भन्दै सभामुखको पदीय जिम्मेवारीमा रहेको व्यक्तिले गरेको व्यवहार असमान रहेकाले आफूहरुले अवरोध गरेको भनेर बताएको जानकारी दिइन्।
‘हामी प्रतिपक्ष मात्रै होइन संसद्को सबैभन्दा ठूलो दल हौं,’ उनले भनिन्,‘हामीले उठाएको विषयलाई गम्भीरतापूर्वक नलिएर जबरजस्ती गर्न खोज्दा झन् समस्या हुन्छ।’
एमालेले निरन्तर संसद अवरोध गर्न थालेपछि सोमबार दिउँसो सभामुखले शीर्ष नेताहरुको (सर्वदलीय) बैठक बोलाएका छन्।
आइतबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले पनि प्रमुख प्रतिपक्षी दलसँग संवाद गरेर अघि बढ्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।