काठमाडौं- गत साता लगातार उच्च अंकले घटेको पुँजीबजारमा आज सुधार आएको छ। साताको पहिलो कारोबार दिन आइतबार पुँजीबजार मापक परिसूचक नेप्से ७१.४३ अंकले बढेर २९४७.४२ विन्दुमा उक्लिएको छ।
आज कारोबार रकम पनि बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जानकारी दिएको छ। नेप्सेका अनुसार आइतबार नौ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। कूल २३१ वटा कम्पनीका एक करोड ७१ लाख ३३३ कित्ता सेयर ९६ हजार ५९१ पटक खरिद-बिक्री भएका थिए।
कारोबार भएकामध्ये १७१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको मूल्यमा गिरावट आएको छ।
ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १३.०३ अंकले बढेर ५४८.२९ विन्दुमा उक्लिएको छ।
आज नौवटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको थियो। सिटिजन्स म्युचुअल फण्ड-१ का लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ३.५८ प्रतिशतका दरले गुमाएका छन्।
आज अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर सबैभन्दा धेरै ७३ करोड ७७ लाख आठ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। अपी पावर कम्पनीको सेयर सबैभन्दा धेरै तीन हजार ८८७ पटक किनबेच भएका थिए।
आज म्युचुअल फण्डबाहेक सबै उपसमूहको परिसूचक बढेको नेप्सेले जनाएको छ। जलविद्युत् उपसमूहको परिसूचक सबैभन्दा बढी ६.३७ प्रतिशतले बढेको छ। यस्तै विकास बैंक उपसमूहको ५.१३ प्रतिशत, उत्पादन तथा प्रशोधन उपसमूह ४.५१ प्रतिशत, फाइनान्स ४.०८ प्रतिशत, निर्जीवन बिमा ३.२७ प्रतिशतले बढेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।