काठमाडौं- नेकपा एमालेका सांसदहरुले आइतबार पनि प्रतिनिधि सभाको बैठक अवरोध गरेका छन्। बैठक सुरु हुनासाथ वेल घेराउ गर्न पुगेका एमालेका सांसदहरुहरुले नाराबाजी गरिरहेका छन्।
अपराह्न १ बजेका लागि बोलाइएको बैठक १ बजेर २५ मिनेटमा सुरु भएको थियो। तर, निरन्तर नाराबाजीका कारण बैठकको कारबाही अघि बढ्न सकेको छैन।
एमालेका सांसदहरुले मुख्यतः पाँच वटा नारा लगाएका छन्-
१. पार्टी फुटाउने षडयन्त्र मुर्दावाद
२. गैरसांसद्लाई प्रवेश निषेध गर
३. संसदीय मर्यदा कायम गर
४. संवैधानिक सर्वोच्चता कायम गर
५. पक्षपातपूर्ण व्यवहार बन्द गर
यसअघिका बैठकमा सांसदहरुले आफू अनुकूल नारा लगाएका कारण पार्टीको आलोचना भएपछि तोकिएका नारा मात्रै लगाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका छन्। आइतबारै बसेको सो पार्टीको संसदीय दलको बैठकमा उनले सांसद्हरुलाई निर्देशन दिएका थिए।
'म माननीयज्यूहरुलाई आग्रह गर्न चाहन्छु, हामीले संसदीय मर्यादाभित्र तोकिएका नाराहरु लागोस्। त्योभन्दा फाल्तु नारा हामी लगाउँदैनौं। हामीले तोकिएका व्यवहारहरु छन्। हामी वेलमा जान्छौं र नारा लगाउँछौं,' उनले भने, 'नारा लगाउने तरिका हुनसक्छ। अलि सामान्य अवस्था आयो भने विस्तारै विस्तारै नारा लगाउने। अलि बढी एग्रेसिभ भएर सभामुख आउँदा वा सत्ता पक्ष एग्रेसिभ भएर आउँदा अलि चर्को आवाजमा नारा लगाउने हुनसक्छ। तर हामीले नारा लगाउने र वेलमा जानेभन्दा बाहिर त्यो मर्यादाभन्दा बाहिर जानुहुँदैन।'
एमाले विभाजनमा सभामुखको पनि सहभागिता रहेको भन्दै एमालेले आलोचना गर्दै आएको छ। आफ्नो पार्टीले निष्कासन गरेका १४ सांसद् पदमुक्त भएको सूचना टाँस नगरेको भन्दै उसले सभामुखबाट पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाएको हो। ती १४ सांसदलाई गैरसांसद करार गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।