काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदलाई संसद्मा मर्यादित भएर प्रस्तुत हुन निर्देशन दिएका छन्। प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि आइतबार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा उनले सीमाभन्दा बाहिरका व्यवहार नगर्न भनेका हुन्।
'हाम्रो लिमिटेसनभन्दा बाहिरका कुरा अर्थात् काँध चलेर माथि जान खोज्ने कुरा नगरौं। किनभने त्यो देखाउने कुरा मात्रै हुन्छ। के हामीले साँच्चै मर्यादापालकको घेरा तोड्नै खोजेको हो? तोड्नै खोजेको भए हामी बेग्लै ढंगले प्रस्तुत हुन्थ्यौं होला नि। मर्यादापालकको घेरा तोड्न खोजेको होइन,' उनले भने।
उनले तोकिएको नारा मात्रै लगाउन पनि भनेका छन्। 'म माननीयज्यूहरुलाई आग्रह गर्न चाहन्छु, हामीले संसदीय मर्यादाभित्र तोकिएका नाराहरु लागोस्। त्योभन्दा फाल्तु नारा हामी लगाउँदैनौं। हामीले तोकेका व्यवहार छन्। हामी वेलमा जान्छौं र नारा लगाउँछौं,' उनले भने, 'नारा लगाउने तरिका हुनसक्छ। अलि सामान्य अवस्था आयो भने विस्तारै विस्तारै नारा लगाउने। अलि बढी एग्रेसिभ भएर सभामुख आउँदा वा सत्ता पक्ष एग्रेसिभ भएर आउँदा अलि चर्को आवाजमा नारा लगाउने हुनसक्छ। तर हामीले नारा लगाउने र वेलमा जानेभन्दा बाहिर त्यो मर्यादाभन्दा बाहिर जानुहुँदैन।'
उनले आफूले कतिपय सांसदहरुले सभामुखलाई माइक हान्ने योजना थियो भनेर सुनेको तर त्यस खालका योजना नभएकाले त्यस्तो कुरा मिडियामा नभन्न आग्रह गरेका थिए। 'त्यस्तो नभएको कुरा हामीले मिडियामा गर्नु हुँदैन। हुँदै नभएको कुरा मिडियामा गर्नु वाञ्छनीय हुँदैन। हाम्रो त्यस्तो योजना छँदै थिएन त कसरी भन्ने? त्यसैले हाम्रा माननीयहरुले बोल्दा व्यवहार गर्दा जिम्मेवारीपूर्वक बोल्ने र व्यवहार गर्ने गर्नुपर्छ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।