काठमाडौं– सत्तारुढ गठबन्धनका शीर्ष नेताकाे बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलका शीर्ष नेता बैठकमा सहभागी रहेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बिहान सवा १० बजेदेखि गठबन्धनको बैठक जारी रहेको छ।
मन्त्रिपरिषद् विस्तारका विषयमा आजै टुंगो लगाएर सोमबार सपथ गराउने तयारी रहेको नेकपा एकीकृत समाजवादीका एक नेताले बताए।
‘प्रधानमन्त्रीले मन्त्री बनाउनेकाे लिष्ट दिनुस् भन्नु भएको छ,’ ती नेताले भने, ‘चार दलका शीर्ष नेताहरुले मन्त्री हुनेको लिष्ट दिएपछि छलफल भएर टुंगो लाग्छ।त्यस लगतै मन्त्रिपरिषद् विस्तार हुन्छ।’
आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलसहित गठबन्धनभित्र रहेका पाँच दलका शीर्ष नेता सहभागी रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।