फाइल तस्वीर
काठमाडौं– मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ। आइतबार बिहान १० बजेका लागि बैठक तय भएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जानकारी दिएको छ।
बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिने, संसद निरन्तर चलाउने र समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुन लागेको स्रोतको भनाइ छ। त्यसैगरी बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०का विषयमा समेत छलफल हुने जनाइएको छ।
आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत गठबन्धनभित्र रहेका पाँच दलका शीर्ष नेता सहभागी हुनेछन्।
यसअघिको गठबन्धन बैठकमा प्रधानमन्त्री देउवाले दलका शीर्ष नेताहरुसँग पार्टीको तर्फबाट सरकारमा पठाउने मन्त्रीको नाम मागेका थिए। आजको बैठकमा गठबन्धनका दलबाट सरकार सहभागी हुने मन्त्रीको नाम आएमा तत्काल मन्त्रिपरिषद् विस्तार हुने सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।