काठमाडौं- जीवन बिमा प्रदायक कम्पनी राष्ट्रिय बिमा संस्थानले आगामी असार मसान्तसम्म चुक्ता पुँजी दुई अर्ब रुपैयाँ पुर्याउने भएको छ।
संस्थानको शनिबार सम्पन्न ३१औं साधारणसभामा समितिका अध्यक्ष गंगाराम कँडेलले नियामक बिमा समितिको पछिल्लो निर्देशनअनुरुप दुई अर्ब चुक्ता पुँजी पुर्याउनुपर्ने व्यवस्था रहेकोले संस्थानले सोहीअनुसार चुक्ता पुँजी पुर्याउनका लागि पुँजी योजना तयार गरी अर्थ मन्त्रालयमा स्वीकृतिमा लागि पठाइएको जानकारी दिए।
विगत केही वर्षदेखि महामारीको रुपमा फैलिएको कोभिड-१९ को प्रभावलाई नियन्त्रण गर्न सरकारले गरेको बन्दाबन्दी तथा निषेधाज्ञाले संस्थानको व्यवसाय विस्तारलगायत अन्य गतिविधिहरुमा नराम्रो प्रभाव परेको उनले बताए।
कोरोना प्रभावका बाबजुत् पनि संस्थानले गत आर्थिक वर्ष २०७७/७८ मा सात अर्ब ५७ करोड १३ लाख रुपैयाँ खुद प्रिमियम संकलन गरेको उनले बताए। सोही अवधिमा तीन अर्ब १९ करोड ८७ लाख रुपैयाँ दाबी भुक्तानी गर्नुका साथै आर्थिक वर्षको अन्त्यमा जीवन बिमा कोषमा ३२ अर्ब ९३ करोड ६१ लाख रुपैयाँ रहेको अध्यक्ष कँडेलले जानकारी दिए।
संस्थानको लामो समयदेखि बाँकी रहेको आव २०६६/६७, २०६७/६८ र २०६८/६९ को लेखापरीक्षण तथा साधारणसभा गरिएको हो। संस्थानले आव २०६६/६७ मा तीन अर्ब चार करोड चार लाख १६ हजार ८२३ रुपैयाँ आम्दानी गरेको छ। २०६७/६८ मा तीन अर्ब ७८ करोड ७० लाख ७४ हजार ३१७ रुपैयाँ आम्दानी गरेको जनाएको छ। यस्तै २०६८/६९ मा तीन अर्ब ९० करोड ५७ लाख ८४ हजार २२७ आम्दानी गरेको छ।
संस्थानले विगतमा ‘डस’ प्रविधिमा आधारित काम गरेकोमा अब डिजिटल प्रविधिबाट काम गर्नसक्ने भएको भन्दै संस्थानका प्रशासक कविप्रसाद पाठकले आव २०६६/६७ को तुलनामा पछिल्ला वर्षहरुमा बिमा क्षेत्रमा रहेका विविध चुनौतीहरुको सामना गर्दै संस्थानले व्यवसायमा उल्लेख्य बढाउँदै गएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।