काठमाडौं– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रुपमा जम्मा ९ प्रतिशत मात्र असर परेको बताएका छन्।
शनिबार काठमाडौंमा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित बृहत् प्रशिक्षण भेला तथा शपथ ग्रहण कार्यक्रममा महासचिव पोखरेलले विभाजनले एमालेलाई देशव्यापी रुपमा जम्मा ९ प्रतिशत मात्र असर गरेको बताएका हुन्। उनले नेकपा एमालेले देशव्यापी रुपमा अभियान चलाउने बेलासम्म यो ९ प्रतिशत पनि खिइएर २ प्रतिशतमा झर्ने दाबी गरे।
‘केहीले कति असर पर्यो पार्टी विभाजन हुँदा भन्नुभएको छ, हामीले अध्ययन गर्दा यसको असर ९ र धेरैमा १० प्रतिशत मात्रै परेको देखेका छौँ, तर अब नेकपा एमालेले देशव्यापी रुपमा अभियान चलाउँछ। यो २/३ प्रतिशतमा आइपुग्नेछ। र, नेकपा एमाले हिजो भन्दा पनि अझै सबल भएर अघि बढ्छ’, पोखरेलले भने।
महासचिव पोखरेलले नेपालको राष्ट्रिय राजनीति दुईवटा ध्रुवमा विभाजित भएको भन्दै केपी शर्मा ओलीले गरेको राजनीतिक ध्रुवमा आफूहरुले काम गर्ने बताए।
‘आज हाम्रै पार्टीभित्र पनि देखापरेका गलत कुराहरुसँग जुध्ने आँट गर्नुपर्छ। बाहिरका प्रतिकूलतासँग मात्रै होइन, भित्रका प्रतिकूलतासित, बाहिरका बैरीसँग मात्रै होइन, भित्रका गलत कुराहरुसँग पनि जुधेर हामी यो ठाउँमा आइपुगेका हौँ’, उनले भने, ‘हाम्रो यात्रा जारी छ। हामी यो लडाइँमा कहिल्यै थाक्नेछैनौँ।’
महासचिव पोखरेलले पार्टीको पक्षमा उभिएर काम गर्ने हरेकलाई समेटेर अघि बढ्नुपर्ने बताए। उनले एमाले हिजो भन्दा पनि बलियो बन्ने हिसाबले अघि बढ्ने भन्दै एमालेमा प्रवेश गरेका नयाँ कार्यकर्ताहरुले क्रियाशील भएर काम गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।