काठमाडौं- नेकपा एमालेको विधान महाधिवेशन धकेलिएको छ। यसअघि असोज ४ देखि ६ गतेसम्म हुने भनिएको विधान महाधिवेशन अब असोज १५ देखि १७ सम्म हुने छ।
शनिबार दोस्रोपटक बसेको स्थायी कमिटी बैठकले विधान मधिवेशनको नयाँ मिति तोकेको हो। तयारी नसकिएकाले मिति सारिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए।
विधान महाधिवेशनको तयारीका लागि स्थायी कमिटीको अर्को बैठक असोज ३ र ४ गते बस्ने छ। त्यसमा विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजहरु प्रस्तुत हुने र त्यसलाई केन्द्रीय कमिटीको असोज ८ र ९ गते बस्ने बैठकबाट पारित गरेर विधान महाधिवेशनमा प्रस्तुत गरिने उनले बताए।
बैठकले प्रतिनिधि परिषद्मा रहने सदस्यहरु पनि टुंग्याइएको छ। राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्यहरु स्वतः विधान अधिवेशनको प्रतिनिधि हुने भएपनि त्यसको निर्वाचन नभएकाले विधानको बाधा अड्काउ फुकाउ व्यवस्थामार्फत् नयाँ व्यवस्था गरिएको हो।
प्रतिनिधि परिषद्मा केन्द्रीय कमिटी सदस्य र पदाधिकारी, आयोग तथा विभाग, जिल्ला कमिटीदेखि स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षसहित करिब तीन हजारको प्रतिनिधित्व रहने भट्टराईले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।