फाइल तस्बिर।
काठमाडौं- नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'ले एमसीसीको विरोध गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसलाई अघि नबढाउने अपेक्षा गरेका छन्। शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले एमसीसीलाई अगाडि बढाइयो भने देउवा आन्दोलनको भूमरीमा पर्ने बताए।
'अहिलेको दुनियाँमा श्रमजीवी जनताले आफ्नो बारेमा आफैं निर्णय गर्ने अधिकार छ। त्यसैले कुनै पनि विदेशी हस्तक्षेप हाम्रा निम्ति स्वीकार्य हुनेछैन', उनले भने, 'मलाई लाग्छ, देउवाले मुर्खता गर्नुहुने छैन। मुर्खता गर्नुभयो भने आन्दोलनको भूमरीमा पर्नुहुन्छ। अमेरिकाले पनि मुर्खता गर्ने छैन। किनकि, एमसीसीलाई नेपाली जनताले स्वीकार नै गरेको छैन।'
प्रकाण्डले एमसीसी सम्झौता नेपालको राष्ट्रियताको विरुद्धमा भएको बताए। उनले यसलाई इन्डोप्यासिफिक स्ट्राटेजीको एउटा अंग होइन भन्नु नेपाली जनतालाई उल्लु बनाउने कुरा भएको बताए।
उनले विकास गर्नका लागि एमसीसी नै नचाहिने समेत बताए। अहिलेको बजेटलाई नै ठीक ढंगले लगानी गर्ने हो भने विकासका लागि पर्याप्त रहको उनको भनाइ छ।
उनले एमसीसी विकाससँग सम्बन्धित नभएको भन्दै त्यसलाई अघि बढाइयो भने देशमा आन्दोलनको आगो लाग्ने चेतावनी दिए। 'मुर्खता गरियो भने यो देशमा आगो लाग्छ। यो देश जल्छ। देशमा आन्दोलनको आगो लागेको बेला दलालहरुको स्थिति के हुन्छ, विचार गरिराखे हुन्छ', उनले भने।
प्रकाण्डले जनताको वैज्ञानिक व्यवस्था नै जनताको प्रतिनिधित्व गर्ने व्यवस्था हो भन्ने विचार आफूहरुले अगाडि सारेको भन्दै त्यसमा जनमत संग्रह गरिनुपर्ने बताए।
'जनतालाई आफ्नो व्यवस्थाको र अधिकारको बारेमा फैसला गर्ने अधिकार दिऊँ न। अनि जनताले जे फैसला गर्छ, हामी त्यो मान्छौं भनेका छौं। आफूलाई लोकतन्त्रवादी र कम्युनिस्ट भन्ने राजनीतिक पार्टीहरुले यसलाई इन्कार गर्नुपर्ने कुनै कारण छैन', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।