काठमाडौं- नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले एमाले विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै उनले चित्तबुझ्दो जवाफ दिनुपर्ने बताएका छन्।
शनिबार एमालेको स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँगको कुराकानीमा भट्टराईले यस्तो बताएका हुन्। ‘संसद्लाई अवरोध गर्ने कुनै नियत होइन। पार्टी विभाजनका निम्ति सहयोगी भूमिका खेलेपछि आपत्ति हो,’ उनले भने, ‘उहाँ संसद्को नेता हो। तर, सत्तापक्षको सदस्यका रुपमा भूमिका खेल्नुभयो।’
उनले सभामुख सत्ता र प्रतिपक्ष कसैको नहुने भन्दै एमाले विभाजनमा सहयोगीको भूमिका खेलेकाले चित्तबुझ्दो जवाफ दिनुपर्ने बताए।
‘संसद्लाई सहज बनाउने काम सत्तापक्षको हो। त्यसमा सभामुखले सहजीकरण गर्नुपर्ने त्यो गर्नुभएको छैन। एमालेसँग संवादमा आउन चाहनुभएको छैन,’ उनले भने, ‘सभामुखले संवाद गर्नुपर्यो। दलका नेता र पदाधिकारीसँग सोध्नुपर्यो।’
कार्यव्यवस्था परामर्श समितिको बैठक नै बसालेर काम गर्नुपर्ने केही नगरी संसद्मा पेश गरिएको उनको भनाइ छ। ‘सभामुखले एमालेसँग संवाद गर्नुपर्छ। एमालेका टिप्पणी सुन्नैपर्छ। उचित हल दिने काम सभामुखले गर्नुपर्छ,’ भट्टराईले भने, ‘हामीले विधि, नियमावलीको प्रश्न उठाएका हौं। कुनै व्यक्तिको प्रश्न उठाएका होइनौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।