काठमाडौं- नेकपा (एमाले)का सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रवक्ता आफू हुने कि प्रदीप ज्ञवाली भन्ने नटुंगिएको बताएका छन्।
शनिबार ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटी बैठकका निर्णय सुनाउने क्रममा उनले पार्टीको २०७५ जेठ २ गतेसम्मको अवस्थामा प्रवक्ताको व्यवस्था नरहेको बताए। उनले त्यतिबेला प्रचार विभाग प्रमुखका रुपमा आफूले निर्णय सुनाउने र सञ्चारमाध्यमका धारणा राख्ने गरेको स्मरण गरे।
तर, अहिले प्रवक्ता को हुने भन्ने नटुंगिएको उनको भनाइ छ। अहिले आफूले प्रचार विभाग प्रमुखको रुपमा काम गर्ने भट्टराईले बताए।
'हाम्रो जिम्मेवारी २०७५ जेठ २ गते फर्काउने निर्णय भएको थियो। त्यतिबेला प्रवक्ता भन्ने थिएन। प्रचार विभाग प्रमुख थियो। त्यसैले मिडियामा आवश्यक जानकारी दिने हुँदा सबैलाई म नै प्रवक्ता हो भन्ने पर्यो', भट्टराईले भने, 'बीचमा प्रदीप ज्ञवाली प्रवक्ता हुनुभयो। अहिले उहाँ प्रवक्ता हुने कि म हुने भन्ने पछि टुंगिन्छ। अहिले चाहिँ मैले प्रचार विभागको प्रमुखको रुपमा काम गर्छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।