बर्दिवास– महोत्तरी जिल्लामा जताततै बालुवा र ढुङ्गा निकाल्न खनिएका खाल्डामा डुबेर वर्षेनि मानवीय क्षति हुने गरेको छ। पछिल्लोपटक शनिबार बर्दिवास नगरपालिका–१० खयरमारामा एक १६ वर्षीया किशोरीको त्यस्तै खाल्डाको पानीमा डुबेर मृत्यु भएको छ।
बर्दिवास–१० का हिरासिंह थिङकी १६ वर्षीया छोरी सुष्मा थिङको एक्साभेटरले बालुवा र ढुङ्गा उत्खनन गरेको खाल्डोमा डुब्दा शनिबार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। दिउँसो साथीहरुसँग गाईवस्तु चराउन गएकी सुष्मा पानीले भरिएको खाल्डोमा पौडी खेल्न पस्दा डुबेकी थिइन्।
खाल्डोबाट निकालेर परिवारजनले बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषित गरेका इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक वासुदेव थापाले बताए।
सुष्मा बर्दिवास–१० स्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन्। शव परीक्षणका लागि जनकपुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ।
यसअघि गतवर्षको जेठमै बर्दिवास–१३ बिजलपुरामा र २०७३ सालको असारमा बर्दिवास–९ पशुपतिनगरमा यस्तै खाल्डोमा डुबेर एक÷एक जनाको मृत्यु भएको थियो। वर्षेनि खाल्डामा डुबेर मानवीय क्षति हुँदै आएपछि यस भेगका सर्वसाधारणले बालुवा, ढुङ्गा उत्खनन गर्ने काम ठाउँ छनोट गरेर मात्र गर्न र ठूला–ठूला खाल्डा बनेका ठाउँ पुर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।