काठमाडौं– नेपाल भ्रमणमा रहेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ।
शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलमा अमेरिकी आर्थिक सहायता एमसीसीले नेपालको आर्थिक रुपान्तरणमा पार्ने प्रभावका बारेमा छलफल भएको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ।
प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत् एमसीसीकी उपाध्यक्ष फातिमा सुमारसहितको प्रतिनिधि मण्डलसँग कुराकानी भएको बताएका छन्।
भेटका क्रममा आफूहरुबीच नेपाल-अमेरिका सहयोग तथा एमसीसीमार्फत् नेपालको आर्थिक रुपान्तरणका विषयमा कुराकानी भएको देउवाले जनाएका छन्।
बिहीबार नेपाल आइपुगेकी सुमार शुक्रबार अपराह्न प्रधानमन्त्री देउवालाई भेट्न शुक्रबार साँझ बालुवाटार पुगेकी थिइन्।
यसैबीच अर्थ मन्त्रालयले विज्ञप्ति जारी गरी प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष समारबीचको भेटवार्ताबारे जानकारी दिएको छ। 'भेटका अवसरमा मिलिनियम च्यालेन्ज कर्पोरेसनबाट नेपालको आर्थिक विकासमा हुनसक्ने सहयोगलगायतका विषयमा छलफल भयो। सो अवसरमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सरकार र मिलिनियम च्यालेन्ज कर्पोरेसनबीच २०१७ मा सम्पन्न अनुदानसम्बन्धी कम्प्याक्ट अगाडि बढाउनका लागि आफूले राजनीतिक स्तरमा छलफील जारी राखेको कुरा बताउनुभयो,' विज्ञप्तिमा उल्लेख छ।
एमसीसी उपाध्यक्ष सुमारले उक्त कम्प्याक्ट संसद्बाट छिटो अनुमोदन हुने विश्वास व्यक्त गर्दै कम्प्याक्टले नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण योगदान गर्ने बताएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।

सुमारले बिहीबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सत्ता साझेदार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा डा बाबुराम भट्टराईसँग भेट गरेकी थिइन्।
उनले शुक्रबार बिहान सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेटवार्ता गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।