काठमाडौं- संविधानसभाका दुई जना सदस्यको निधनमा शोक प्रस्ताव पारित गर्दै शुक्रबारको प्रतिनिधि सभा बैठक सकिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट २०७० सालको संविधानसभामा समानुपातिक तर्फबाट निर्वाचित सदस्य महेन्द्र शेरचन र तत्कालीन एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट २०७० सालको संविधानसभामा समानुपातिक तर्फबाट निर्वाचित सदस्य जेबी टुहुरेको निधनप्रति शोक प्रस्ताव पारित गर्दै बैठक सकिएको हो।
अर्थमन्त्री जनार्दन शर्माले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट संशोधन गर्न संघीय संसद्मा प्रतिस्थापन विधेयक पेश गरेपछि सभामुख सापकोटाले शोक प्रस्ताव पेश गरेका थिए।
आजका लागि बोलाइएको बैठकको सुरुमै नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि सभामुखले दुई पटक प्रतिनिधि सभा बैठक स्थगित गरेका थिए।
आजको तेस्रो बैठक सुरु भएसँगै एमाले सांसदहरुले नाराबाजी गरेका थिए। नाराबाजीका बीच सभामुखले बैठक अघि बढाएका थिए।
अर्थमन्त्रीले प्रतिस्थापन विधेयक पेश गरिरहँदा एमाले सांसदहरुले नाराबाजी गरिरहेका थिए। नाराबाजीका बीच सभामुखले शोक प्रस्ताव पेश गर्दै १ मिनेट मौनधारणको लागि समय छुट्याएपछि एमाले सांसदहरु पनि मौन बसेका थिए।
संसद बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।