काठमाडौं– प्रतिनिधि सभाको नवौं अधिवेशनअन्तर्गत दोस्रो दिन (शुक्रबार)को बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजी सुरु गरे।
आफू बसेको स्थानबाट उठेर नाराबाजी गर्दै एमाले सांसदहरु बेल घेर्न पुगेका थिए। नाराबाजी जारी रहेपछि सभामुख अग्नि सापकोटाले पहिलो बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरे।
१५ मिनेटका लागि स्थगित भएको बैठक सुरु हुने बित्तिकै पनि एमाले सांसदहरुले नाराबाजी जारी राखे। तर, दोस्रो बैठकमा भने सभामुख सापकोटाले अध्यादेश पेस गर्ने पूर्वनिर्धारित कार्यसूची अनुसारको प्रक्रिया अगाडि बढाए।
एमालेका सांसदहरुको नाराबाजी चलिरहेको थियो, सभामुख सापकोटाले बजेटसँग सम्बन्धित ३ वटा अध्यादेश पेस गर्ने पक्रिया अगाडि बढाए।
अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गर्न अनुमति दिनु अगाडि सभामुख सापकोटाले नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई आर्थिक अध्यादेश २०७८ लाई अस्वीकार गरियोस् भन्ने सूचना पेस गर्न समय दिए।
सुवाल आफू बसेको स्थानबाट उठेर बोल्न थाले। तर, उनले आर्थिक अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना पेस गरेनन्। प्रमुख प्रतिपक्षी दलको नाराबाजीका कारण आफूले सूचना पेस गर्ने वातावरण नरहेको भन्दै एमसीसी लगायतका विषयमा आफ्नो धारणा राखेर उनी बसे।
त्यसपछि सभामुख सापकोटाले आर्थिक अध्यादेश २०७८ लाई अस्वीकार गरियोस् भन्ने सूचना सुवालले फिर्ता लिएको व्यहोरा सुनाउँदै अर्थमन्त्री शर्मालाई आर्थिक अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गर्न अनुमति दिए।
अर्थमन्त्रीले आर्थिक अध्यादेश पेस गरेपछि राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ पेस गर्ने 'पालो' आयो। नेमकिपाका सांसद सुवालले राष्ट्र ऋण उठाउने अध्यादेशलाई पनि अस्वीकार गरियोस् भनेर सूचना दर्ता गराएका थिए। सभामुख सापकोटाले सुवाललाई उक्त सूचना प्रस्तुत गर्न समय दिए।
त्यसपछि सुवालले सभामुखको 'प्रक्रिया'प्रति असहमति जनाए। आफूले पहिलेको आर्थिक अध्यादेश २०७८ लाई अस्वीकार गरियोस् भन्ने सूचना फिर्ता लिएको नभइ रोष्टमबाटै उक्त सूचना प्रस्तुत गर्न दिने व्यवस्था मिलाइ दिन भनेर अनुरोध गरेको बताए।
सभामुख सापकोटाले यथास्थानबाटै आफ्नो सूचना पेस गर्न भनिरहे भने सुवालले रोष्टमबाट प्रस्तुत गर्ने वातावरण मिलाइनुपर्ने भनेर जवाफ दिइरहे।
अर्थमन्त्रीले बजेटसँग सम्बन्धित तेस्रो (विनियोजन अध्यादेश २०७८) लाई पेस गर्नु अगाडि पनि सुवालले दर्ता गराएको सो अध्यादेशसँग सम्बन्धित सूचना पेस गर्न भनेर सभामुखख सापकोटाले अनुमति दिएका थिए। तर, सुवालले फेरि पनि रोष्टमबाटै आफ्नो सूचना पेस गर्ने वातावरण बनाइनुपर्ने माग गरिरहे।
सुवालले रोष्टममा आएर बोल्न पाउनुपर्ने माग गरेपनि सभामुखले भने उनको माग 'पूरा' गरेनन्। बरु तीनवटै अध्यादेशलाई निर्णार्थ पेस गर्दै सांसदहरुले जाहेर गरेको मतका आधारमा तीनवटै अध्यादेश स्वीकृत भएको घोषणा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।