काठमाडौं- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौता पारित गर्नु नेपाली जनताका लागि ‘विष सरह’ हुने टिप्पणी गरेका छन्।
नेकपा (एमाले)का सांसदहरुको चर्को नाराबाजीबीच शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले विश्वलाई नै दुःख दिने नियतका साथ आएको सो सम्झौताबारे द्विविधामा नपर्न प्रतिनिधिसभाका सांसदहरुलाई समेत आग्रह गरे।
नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फातिमा सुमारप्रति संकेत गर्दै उनले अमेरिकी अधिकारीले सो सम्झौताको सम्बन्धमा सयथरी कुरा गरिरहेको उल्लेख गरे। त्यस्ता कुरामा फस्न नहुने उनको भनाइ थियो । सांसद सुवालले भने, ‘अमेरिकी साम्राज्यवादले संसारलाई दुःख दिने कुरा संसारका सबै जनतालाई थाहा भएकै कुरा हो। यो यथार्थता नेपाली जनताले पनि बुझिसकेका छन्। यो संघीय संसद्का सबै माननीयहरु द्विविधामा पर्नु आवश्यक छैन। बूढो बाघले शिकार गर्न नसकेपछि चुरा देखाउने र झम्टने कथा हामी सबैलाई थाहा छ। विष भनि थाहा पाइकन खाए के हुन्छ? एमसीसी त्यही हो। अमेरिकी अधिकारीहरुले सय थरी कुरा गर्दै छन्। हामी उनीहरुका सयथरी कुरामा फस्नु हुन्न।’
सांसद सुवालले राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा प्रदर्शन गर्दा आफ्ना पार्टीका कार्यकर्तामाथि प्रहरीले दमन गरेको भन्दै सरकारको चर्को आलोचना गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।