काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गर्दै नाराबाजी गरिरहँदा नेकपा एकीकृत समाजवादीका सांसदहरुले 'प्रतिरोधको प्रयास' गरेका छन्।
प्रतिनिधि सभाको नवौं अधिवेशनअन्तर्गत दोस्रो दिन शुक्रबार बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरुले आफ्नो ठाउँबाट उठेर नाराबाजी सुरु गरेका थिए। 'संसदीय मर्यादा कायम गर', 'दल विभाजन गर्न पाइँदैन' भन्दै एमाले सांसदहरुले नाराबाजी गरिरहँदा एमालेनै विभाजन गरेर बनेको एकीकृत समाजवादीका सांसदहरुले 'प्रतिरोध' प्रयास गरेका हुन्।
एकीकृत समाजवादीका सांसदहरुले नाराबाजीप्रति बिरोध जनाउँदै आफू बसेकै ठाउँबाट टेबल ढ्यापढ्याप गरेका (ठटाएका) थिए।
समाजवादीका सांसदहरु रामकुमारी झाँक्रीसहितले आफू बसेकै स्थानबाट 'संसद्को हत्यारा मुर्दावाद' भन्दै नारा लगाएका थिए। तर, एमालेको ठूलो बिरोधका अगाडि त्यो प्रभावकारी रुपमा सम्प्रेषण भएन।
एकीकृत समाजवादीका केही सांसदले बैठकमा बोल्नका लागि उठेर समय समेत मागेका थिए। तर, एमाले सांसदहरुले नाराबाजी कायम राखेपछि सभामुख अग्नि सापकोटाले संसद बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।