मेरो दुई जाङको बीचमा छ
तिम्रो सत्ताको कुरुप अनुहार।
म कहिले रातलाई दिनमा महसुस गर्न सक्छु?
म कहिले बाटोमा एक्लै निर्धक्क हिँडन सक्छु?
म कहिले डरको पर्खाल भत्काएर उन्मुक्त हाँस्न सक्छु?
म कहिले तिम्रो सत्ताको व्यवस्थाका कागजहरूमा आफुलाई न्याय गर्न सक्छु?
हो मसँग
-योनी छ
-स्तन छ तर यो नबिर्स कि!
ति बलिया देखिने लाखौँ पुरुषहरू जन्माउने शक्तिशाली पाठेघर मेरै हो।
तिमी पुरुष हौ
त्यसैले तिमी बलियो ठहरियौ
तर, तिमी आफैमा यति कमजोर छौ कि
जाबो आफ्नो उत्तेजनालाई रोक्नसम्म नसकेर
एक डल्लो मासुको थुप्रोमाथि मुख जोतिरह्यौ
धर्म/संस्कार/समाज/परिवार
सबैले तिमीलाई बलियो त बनाइदिए
तर, तिम्रो कुहिएको मगजभित्र
आजसम्म आफूलाई कायर नै प्रमाणित गरिरहेको छौ।
तिम्रो चिसो चेतनाको अगेनोमाथि
मलाई भुतभुते खेल्न मन छ
जसले मेरा कलिला स्तनहरूमा
बर्षौँदेखि तिखा नङग्रा गाडिरहेको छ
जसले मेरा फक्रिन नपाएका ओठहरू टोकेर
रगताम्य पार्दै नरपशु भइरहेछ
जसले मेरो योनीमाथि लिङ्ग कै दम्भ देखाइरहेछ
मलाई यति बेला धारिलो तरबार हुन मन छ
जसको दम्भलाई रेटेर तिमीले नै बनाएको कानुनको तराजुमा राखिदिन मन छ
मेरो विक्षिप्त नाङ्गो शरीर र तिम्रो नाङ्गो चेतना
के मैले तिम्रो कठघराबाट न्याय पाउँछु?
सत्ताका ठेकेदारहरू मस्त निदाइरहेका छन्
सक्छौ भने गर
बलात्कार यो लाचार सरकारको अङ्गहरूमाथि!
म त सृष्टिकर्ता हुँ
हेक्का रहोस्!
सिङ्गो सृष्टिकर्ताको अस्तित्वलाई दबाउन खोज्नु भनेको
तिमी आफै तुहिनु पनि हो।
एकदिन यस्तो समय आउने छ कि
तिमीले मेरो शरीरको कुनै अङ्गहरू लुछ्यौ भने
म तिम्रो लिङ्ग र गर्दन काटेर
माइतीघर मण्डलाको बीच सडकमा झुन्डाइदिनेछु
सक्छौ भने आऊ मलाई छोइहेर
तिम्रो बहादुरी हेर्नु छ मलाई।
अब, तिम्रो पितृसत्ताको जग हल्लाएर
तिम्रो घिनलाग्दो सोच र सत्तामाथि
म बारम्बार बलात्कार गर्नेछु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।