काठमाडौं- पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले शनिबार साँझ राजधानीमा मसाल जुलुस निकालेको छ।
मसाल जुलुसमा प्रहरीले बागबजारमा हस्तक्षेप गर्दा भएको झडपमा नेविसंघका दुई जना कार्यकर्ता घाइते भएको जनाइएको छ। झडपका क्रममा नेविसंघका टीका भण्डारी र सञ्जीव ढकाल घाइते भएका नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए। घाइतेहरुको मोडेल हस्पिटलमा उपचार भइरहेको बताइएको छ।
मूल्यवृद्धिको विरोधमा नेविसंघले जमल, बागबजार, मैतिदेवी हुँदै मसाल जुलुस निकालेको थियो।
सरकारले इन्धनको मूल्यवृद्धि फिर्ता नलिएसम्म चरणबद्धरुपमा आन्दोलन जारी राख्ने नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले बताए।
ओली सरकारले पेट्रोलियम पदार्थमा चौथो पटक मूल्य बढाएर ३/३ रुपैयाँ मूल्य बढाएसँगै हाल पेट्रोलको मूल्य प्रतिलिटर १ सय १३ रुपैयाँ छ भने डिजेल र मट्टितेलको ९५ रुपैयाँ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।