फाइल तस्वीर
काठमाडौं– सत्तारूढ गठबन्धनको बैठक आज बस्ने भएको छ। शुक्रबार बिहान ९ बजेका लागि बैठक तय भएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ।
आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत गठबन्धनभित्र रहेका पाँच दलका शीर्ष नेता सहभागी हुनेछन्।
बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिने, संसद निरन्तर चलाउने र समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुन लागेको स्रोतको भनाइ छ। त्यसैगरी बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा समेत छलफल हुने जनाइएको छ।
यसअघि बिहीबार बालुवाटारमा सम्पन्न गठबन्धनको बैठक विनानिष्कर्ष टुंगिएको थियो। बैठकमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित रहेकाले कुनै छलफल नभएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।