काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले एमसीसी परियोजना नेपाली जनता र राष्ट्रको हित भन्दा बाहिर गएर अघि बढ्न नसक्ने प्रष्ट पारेको छ।
चारदिने भ्रमणका लागि नेपाल आइपुगेकी अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारसँगको भेटवार्तामा नेकपा एकीकृत समाजवादीले आफ्नो धारणा राखेको हो।
सिंहदरबारस्थित संघीय संसद् सचिवालयको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापतिको कार्यकक्षमा भएको भेटवार्तामा नेकपा एसले एमसीसी परियोजनाका उपाध्यक्षलाई अहिले देखिएको भ्रमका बारेमा प्रष्ट पार्न आग्रह गरेको छ।
‘करिब डेढ घण्टा हाम्रो कुराकानी भयो। नेपाल सरकारका प्रश्नमा भर्खरै एमसीसीले पठाएको उत्तरका बारेमा पनि धेरै कुरा भए,’ नेकपा एसका केन्द्रीय सदस्य गंगालाल तुलाधरले भने, ‘हामीले पनि धेरै कुरा गर्याैं। उहाँहरुले पनि केही स्पष्ट पार्ने प्रयास गर्नुभयो।’
चार वर्षदेखि थाती रहेको विषय अघि बढाउने सन्दर्भमा आफूहरुको अहिले संयुक्त सरकार रहेको भन्दै अन्य पार्टीहरुसँग पनि छलफल गर्न आग्रह गरेको तुलाधरले बताए।
‘नेपाली जनतासँग जोडिएको विषय हो। जनताको हितमा छ भन्नेखालको कुरा आएको बेला तपाईंहरुले सुनिश्चित वातावरण बनाउनुस् भन्यौं,’ तुलाधरले भने, ‘उहाँहरुले हामीबाट पनि अपेक्षा गरेको देखियो। नेपाली जनताको हितमा हो, अर्को स्वार्थमा होइन। गर्नुहुन्छ तपाईंहरुको हितमा छ, गर्नु हुन्न अहितमा हुने, दबाब दिने हिसाबले आएका होइनौं भन्नुभयो।’
छलफलमा अध्यक्ष माधवकुमार नेपालले गठबन्धनका पार्टीको प्रयास र प्रयत्न भनेको जनता र राष्ट्रहितमा हुनुपर्छ भन्ने रहेको बताएका थिए। ‘अहिले देखा परेको भ्रम तपाईंहरु आएकै बेला प्रष्ट पार्ने कोसिस गर्नुस्,’ नेपालले भने, ‘पाँच पार्टीमा सहमति गरेर नै अघि बढाउने कि नबढाउने भन्ने निर्णयमा पुग्छौं। हाम्रो बीचमा पनि छलफल गर्छौं।’
भेटवार्तामा नेकपा एसको तर्फबाट केन्द्रीय सदस्य प्रमेश हमाल, गंगालाल तुलाधर, नेपालका स्वकीय सचिव मोहन गौतमसहित ५ जना नेता र एमसीसीका अन्य पदाधिकारीहरु सहभागी थिए। चारदिने भ्रमणका लागि आज काठमाडौं आइपुगेको टोलीले दिउँसो नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।