काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे सत्ता पक्षले स्पष्ट धारणा ल्याएपछि मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन्।
बिहीबार एमसीसी उपाध्यक्ष फातिमा सुमारसँगको भेटका क्रममा ओलीले सत्तामा हुँदा आफूहरु एमसीसी सम्झौता पास गर्ने पक्षमा स्पष्ट रहेपनि अहिलेको सत्ता पक्षले स्पष्ट धारणा नल्याएको बताए।
बिहीबारको भेटमा एमसीसी उपाध्यक्ष सुमारले एमसीसी सम्झौताबारे एमालेको पोजिसन र धारणाबारे जिज्ञासा राखेकी थिइन्। जवाफमा ओलीले आफूहरुले सरकारमा हुँदा एमसीसी सम्झौता संसद्बाट पारित गर्ने विषयमा स्पष्ट भएपनि अहिले सत्ता पक्षबाट स्पष्ट कुरा नआएको बताएका बिहीबारको भेटवार्तामा सहभागी एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए।
‘सरकारका हुदाँ हामीले सार्वजनिक रुपमा एमसीसीबारे प्रष्ट भनेका थियौं,’ सुमारले एमसीसीबारे एमालेको धारणाबारे ओलीले दिएको जवाफ उद्धृत गर्दै भट्टराईले भने, ‘अहिले प्रतिपक्षमा छौं। सत्ता पक्षले प्रष्ट पारोस्, हामी प्रष्ट नै छौं।’
भेटमा एमसीसी उपाध्यक्ष सुमारले सत्तामा रहँदा र बाहिर हुदाँ 'पोजिसन' फरक हुन्छ कि? भनेर समेत जिज्ञासा राखेकी थिइन्। जवाफमा ओलीले सत्ता पक्षले छलफल गरेमा, प्रष्ट पार्नु परेपछि त्यस बारेमा धारणा बनाउने बताएका भट्टराईले जानकारी दिए।
हालसम्म सत्ता गठवन्धनले एमसीसीबारे कुनै पनि छलफल नगरेको भन्दै ओलीले सत्ता गठवन्धनसँग बहुमत भएकाले उनीहरुले छलफल नै नगरेकाले अहिले प्रष्ट हुन आवश्यक नभएको जवाफ दिएका थिए।
‘हामीले हतारिएर पोजिसन बनाउन आवश्यक छैन भनेर भनेका छौं। पहिले सरकारमा रहेकाहरुले पोजिसन क्लियर गर्नुपर्छ अनि प्रतिपक्षले,' भट्टराईले भने।
आफूहरु सरकारमा रहँदा पनि सभामुखसहितका केही व्यक्तिले एमसीसीलाई अघि बढ्न नदिएको विषयबारे समेत ओलीले सुमारको टोलीलाई 'अवगत' गराएका थिए।
ओलीसँगको भेटमा एमसीसी उपाध्यक्ष सुमारले अनुमोदनको प्रक्रिया बढाउनु पर्छ भन्ने अमेरिकी पोजिसन रहेको बताउँदै प्रक्रियामा सघाउन एमालेलाई आग्रह गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।