तस्वीर : रासस
काठमाडौं– अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोली चार दिने भ्रमणका लागि नेपाल आइपुगेको छ।
उनीहरु कतार एयरवेजको विमानमार्फत बिहान काठमाडौं आइपुगेका हुन्। चार दिने नेपाल भ्रमणका क्रममा उनीहरुले एमसीसी परियोजनाका प्रक्रियागत प्रगतिबारे जानकारी लिने जनाइएको छ।
नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)मा द्विपक्षीय सहमति भएको थियो।
अमेरिकी सरकारका तर्फबाट एमसीसी र नेपालका तर्फबाट अर्थ मन्त्रालयबीच सोसम्बन्धी सहमति भएको थियो। नेपाल भ्रमणको अघिल्लो दिन एमसीसीले नेपालले सोधेको प्रश्नमा जवाफसमेत पठाएको छ। नेपालले एमसीसीबाट प्राप्त रकम विद्युत् प्रसारण लाइन निर्माणलगायतमा लगानी गरेको छ।
नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँगै अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ।
सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट प्राप्त हुने करिब ६० अर्ब रुपैयाँ सहयोगलाई लिएर राजनीतिक वृत्तका साथै जनस्तरमा मतान्तर रहेका बेला हुन लागेको यो भ्रमणलाई चासोका साथ हेरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।