काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले सभामुख र उपसभामुख एउटै दलको भएकाले दुईमध्ये एउटाले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।
शनिबार राजधानीमा आयोजित साक्षात्कारमा नेता बडूले देशको मुख्य कानुनमा स्पष्ट रुपमा सभामुख र उपसभामुख भिन्न दल र फरक लिंगका हुनुपर्ने व्यवस्था गरेकाले सो अनुसार एक जनाले राजीनामा दिनुपर्ने बताएका हुन्। उनले एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्दा संवैधानिक व्यवस्थाको उल्लंघन हुने भन्दै संविधानको कार्यान्वयनमा सरकारलाई सचेत समेत गराए।
संविधानको मूलभूत अन्तर्वस्तु चलाउन नहुने भन्दै नेता बडूले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति स्वीकार्न नसकिने बताए। संसद् सञ्चालन नियमावलीमा गरिएको व्यवस्थाको विषयमा कांग्रेसप्रति भ्रम फैलाउने काम भएको भन्दै उनले भ्रष्टाचारीलाई कांग्रेसले कहिले पनि संरक्षण नगर्ने र कानुनी शासनको पक्षमा उभिने स्पष्ट पारे।
कार्यक्रममा राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले संविधान मान्ने हो भने सभामुख र उपसभामुख संविधानसम्मत भिन्न पार्टी र भिन्न लिंगका व्यक्ति हुनुपर्ने बताए।
अर्को प्रसंगमा उनले अदालतले दोषी ठहर नगरेसम्म सांसदलाई अपराधीसरह निलम्बन गर्न नमिल्ने तर्क गर्दै रेशम चौधरीलाई सपथ नगराएर राज्य र संसदले अन्याय गरेको बताए।
यस्तै, नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले आकस्मिकता र परिस्थिति फेरिएकाले कानुनलाई प्रभाव नपार्नेगरी सहमतिका आधारमा सभामुख र उपसभामुखको विषयलाई टुंग्याउनुपर्नेमा जोड दिए।
नेता पौडेलले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयमा संविधान बनाउँदा नै तात्कालीन माओवादीले फरक मत राखेको उल्लेख गर्दै त्यसबारे छलफल चलिरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।