फाइल तस्बिर।
काठमाडौं– सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनलाई तोड्ने षडयन्त्र भइरहेको बताएका छन्।
दाहालले एमसीसी प्रयोग गरेर सत्तारुढ गठबन्धनलाई फुटाउने षडयन्त्र देशभित्र र देश बाहिरका प्रतिक्रियावादीहरुले गरिरहेको आरोप लगाए।
सुरेश वाग्ले र भीमसेन पोखरेलको २२औं स्मृति दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यथास्थितिमा एमसीसी सम्झौता पारित गर्न नसकिने अडान पनि दोहोर्याए।
दाहालले सत्तारुढ गठबन्धनलाई बचाएर राष्ट्रलाई क्षति नहुने गरी एमसीसी सम्झौता अघि बढाउन आफूले चाहेको पनि बताए। तर अर्को वर्ग पूरै तागतका साथ यो गठबन्धनलाई कसरी तोडने? भनेर लागि परेको उनको दाबी छ।
‘यो गठबन्धनलाई तोड्ने षडयन्त्र पनि भइराखेको छ, देशभित्र र बाहिरबाट। यो प्रतिगमनलाई परास्त गर्न बनेको गठबन्धन, हामीले गठबन्धनलाई भनेको के छ भने संविधानको रक्षा, लोकतन्त्रको रक्षा, गणतन्त्रको रक्षा र राष्ट्रको रक्षाको निम्तिको गठबन्धन भनेका छौं। यसलाई विभाजन के गरि गर्ने?’, दाहालले भने, ‘एमसीसी प्रयोग गरेर यसलाई फुटाउन सकिन्छ कि भनेर एकथरी लागिपरेका छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।