काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका विषयमा सबैले अध्ययन गरेपछि पार्टीले धारणा बनाउने बताएका छन्।
बुधबार बानेश्वरस्थित संसद भवनमा बसेको संसदीय दलको बैठकमा बोल्दै ओलीले हतार गरेर एमसीसीका विषयमा धारणा बनाउनु पर्ने अवस्था नभएकाले अध्ययनमा लाग्न सांसदहरुलाई आग्रह गरे। एमसीसीका विषयमा एमाले सांसदहरुले पार्टीको धारणा स्पष्ट पार्नु पर्ने माग गरेपछि ओलीले तत्काल धारणा बनाउनु पर्ने अवस्था नरहेको प्रष्ट पारे।
‘हामी हरेक कुरामा अग्रसर भइहाल्नु पर्छ भन्ने छ। हामीले कुनै कुरा छलफलको क्रममा लैजान सक्छौं। एमसीसी एउटा डिबेटको रुपमा आएको छ। छलफलमा लानु पर्ने छ। बुद्धिजीविहरुलाई विचार व्यक्त गर्न दिउँ। दलहरुलाई धारणा बनाउन दिउँ। तर्कहरु गर्न दिउँ’ ओलीले भने, ‘रावलजीले सबैलाई डकुमेन्ट पठाउँछु भन्नु भएको छ। ति सबै डकुमेन्टहरु पढौं। के के ठिक/बेठिक कुरा रहेछन्? कति फाइदा/बेफाइदा रहेछन् पढौं।’
एमसीसी पास गर्ने एमालेको जिम्मा नभएकाले त्यसमा धेरै सरोकार नराख्न ओलीले आग्रह गरे। ‘एमसीसी पास गर्ने जिम्मा हाम्रोपनि होइन। यो सन्धी सम्झौता हामीले गरेको पनि होइन। यो हाम्रो काधमा आइलाग्ने छैन’ उनले भने, ‘यदी एमसीसीका विषयमा जिम्मा आइलगेमा गम्भीरतापूर्वक छलफल गरेर निर्णयमा पुग्ने छौ।’
एमालेले देशको हितविपरित गएर सम्झौता नगर्ने ओलीले बताए। ‘हामी देश र आमजनताको धारणाविरुद्ध जाँदैनौ। देश र जनताविरुद्ध गएर कहिलै सम्झौता गदैनौं’ ओलीले भने, ‘हामी नेपाल र नेपालीका पक्षमा काम गर्ने छौं। नेपाली जनताको उन्नती प्रगतिका लागि काम गर्ने छौं।’ नेपाली जनताका लागि के गर्दा खुसीयाली आउँछ त्यसमा काम गर्ने ओलीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।