फाइल तस्बिर।
काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टीका सांसदहरू उपस्थित भए सदन चल्न नदिने बताएका छन्। बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीको अडान स्पष्ट पारेका हुन्।
'यदि गैरसांसदको उपस्थिति छ भने कुनै पनि हालतमा गैरकानुनी ढंगले सदन प्रारम्भै हुन दिँदैनौं। त्यसको प्रक्रिया अगाडि बढ्दै दिँदैनौं', ओलीले भने।
उनले एमालेले १४ जना सांसदलाई साउन २५ गते नै निष्कासन गरिसकेको हुनाले उनीहरु गैरसांसद भएको बताए। उनले साउन २५ गते निष्कासन गरेका व्यक्तिले पार्टी दर्ता गरेको भन्दै त्यसलाई पनि गैरकानुनी करार गरे। एमालेले भदौ १ गते निष्कासन सम्बन्धी सूचना संसद सचिवालयलाई दिएको थियो। तर सभामुखले अध्ययन र परामर्श भन्दै समय बिताइदिएका थिए। सभामुखको त्यस खालको व्यवहारप्रति पनि ओलीले आक्रोश व्यक्त गरे।
'सभामुखको सम्बन्धमा हामी छलफल गरौंला। किन यसो गर्नुभयो भनेर प्रश्न सोधौंला। उहाँको स्पष्टीकरण पनि सुनौँला। चित्त बुझ्छ बुझ्दैन विचार गरौंला। त्यो पनि विचार गर्न सकिन्छ। तर प्रतिनिधि सभा नियमावली र राष्ट्रिय सभा नियमावलीले गैरसांसद्को उपस्थितिमा संसद् चल्न सक्दैन भन्छ। यदि आज हामीले साउन २५ गते नै निष्कासन गरिसकेका व्यक्तिहरु संसद्को बैठकमा उपस्थित हुन्छन् भने, गैर सांसद्को उपस्थितिमा संसद् चल्दा हामी कसरी सहभागी हुनसक्छौं? मिल्छ? हामीले कानुन तोड्न मिल्छ?', ओलीले भने।
उनले एकीकृत समाजवादीका सांसद्प्रति लक्षित गर्दै उनीहरुले लगाएको लोगो सभामुखले किन नखोसेको भन्दै प्रश्न गरे। 'हामी हेर्दछौं, गैरसांसद ढोकाबाट फर्काइन्छन् कि फर्काइँदैनन्? फर्काइएनन् भने तिनीहरु छउञ्जेलसम्म संसद् चल्दैन', उनले भने।
उनले आफूहरुले निष्कासन गरेका व्यक्तिहरु पनि सदनमा आउने भए माओवादी केन्द्रले निस्कासन गरेका सांसदहरुलाई पनि ल्याएर सदन चलाउन आग्रह गरे।
'पहिले निकालिएकाहरु अहिले हाजिर गर्नुपर्यो। रामबहादुर थापा राष्ट्रिय सभामा हाजिर गर्नुपर्यो। प्रतिनिधि सभामा टोबहादुर रायमाझी हाजिर गर्नुपर्यो, लेखराज भट्ट, गौरीशंकर चौधरी, प्रभु साह उहाँहरुलाई पहिले हाजिर गर्नुपर्यो। उहाँहरु पहिले निष्कासित हुनुभएको थियो। उहाँहरुलाई हाजिर गरेर एउटा बैठक चलाऔँ, अर्को बैठकमा विचार गरौंला। ए, एकथरीचाहिँ निकालेको निकाल्यै हुने, एकथरी पार्टीको अधिकार हुने, अर्कोथरी सभामुखको अधिकार हुने?', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।