फाइल तस्बिर
काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले अध्यादेश कुनै राजनीतिक दलको नेताको निवासमा नभई कानुन मन्त्रालयमा मस्यौदा हुनुपर्ने बताएका छन्।
बिहीबार सिंहदरबारमा जारी संसदीय दलको बैठकमा बोल्दै ओलीले सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश अघिल्लो दिन मध्यरातमा संसदको अधिवेशन अन्त्य गरेर भोलिपल्ट ल्याउँदा कानुन मन्त्रालयसँग छलफलनै नगरेको दाबी गरे।
उनले उक्त अध्यादेश एकीकृत समाजवादी दलका नेता माधव नेपालको निवास कोटेश्वर र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निवास खुमलटारमा मस्यौदा गरेको आरोप लगाए।
अघिल्लो पटक आफूले ल्याएको अध्यादेश र संसद अधिवेशनलाई बिर्सदैं ओलीले छापामार शैली र धोकापूर्ण रुपमा संसद अधिवेशन अन्त्य गरेको आरोप लगाए।
ओलीले आफू प्रधानमन्त्री हुँदा पनि कसैसँग सल्लाह नगरी मनलाग्दी रुपमा संसद् अधिवेशन अन्त्य गरेका थिए। उनले अरु पार्टीले ह्वीप जारी गर्न पाउने एमालेले नपाउने भएको भन्दै अरु पार्टीका सांसद निष्कासन गर्न पाउने तर हाम्रो पार्टीले नपाउने बनाइएको आरोप लगाए।
‘संसद बैठक नभएको अवस्थामा मात्र अध्यादेश ल्याउन सकिन्छ,’ उनले भने, ‘संसद चलिरहेको अवस्थामा मध्यरातमा अन्त्य गर्ने र भोलि बिहान अध्यादेश जारी गरियो।’
ओलीले नागरिकता सम्बन्धी अध्यादेश आफ्नो समयमा अघिल्लो दिन संसदको अधिवेशन अन्त्य गर्दै भोलिपल्ट ल्याएका थिए। संसदमा पारित हुनेक्रममा रहेको नागरिकता सम्बन्धी विधेयकलाई वेवास्ता गर्दै उनले अध्यादेश ल्याएपछि सर्वोच्चले अन्तरिम आदेश मार्फत रोक लगाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।