काठमाडौं- नेकपा एमाले संसदीय दलको बैठकमा सांसदहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा प्रष्ट पार्न माग गरेका छन्। एमसीसीका विषयमा पार्टीमा एकरुपता नभएको भन्दै साझा धारणा बनाउन सांसदहरुले आग्रह गरेका हुन्।
संसदीय दलको बैठकमा बोल्दै केन्द्रीय सदस्य एवम् सांसद महेश बस्नेतले पार्टीले एमसीसीका विषयमा साझा धारणा बनाउनु पर्ने माग गरेका छन्।
‘भीम कमरेडले एमसीसीका विषयमा आफ्नै ढंगले बोल्दै आउनु भएको छ। अन्य नेताहरुले आफ्नै तरिकाले धारणा राख्नु भएको छ’ बस्नेतले भने, ‘एमसीसीका विषयमा पार्टीले साझा धारणा बनाएर जानुपर्छ। त्यसपछि एमसीसीका विषयमा पार्टीमा एकरुपता हुन्छ।’
यस्तै, सांसद राजबहादुर बुढाले एमसीसीका विषयमा पार्टीको स्पष्ट धारणा हुनु पर्ने बताएका छन्। ‘एमसीसीका विषयमा गाउँ गाउँसम्म पुगेको छ। सबैले आ–आफ्नो धारण बनाएका छन्। त्यसैले पार्टीले आफ्नो धारणा प्रष्ट राख्नु पर्छ’ सांसद बुढाले भने, ‘एमसीसी के हो? अरुको धाराणा हेरेर बनाउने हैन। एमसीसी ठीक हो भने यो कारण ठीक हो भन्नु पर्छ । ठीक हैन भने भने यो कारण हैन भन्नु पर्छ।’
एमसीसीका विषयमा जनताकहाँ जाँदा एउटै कुरा लिएर जानु पर्ने बुढाको तर्क छ। यस्तै, सांसद शिवमाया तुम्बाहाङफेले एमसीसी सम्झौता भएका प्रावधानहरुका विषयमा अध्ययन गरेर बाहिर ल्याउनु पर्ने बताइन्।
‘एमसीसीका विषयमा जुन सम्झौता भयो त्यसमा भएका केही प्रावधानहरु आपत्तिजनक छन् भनिएको छ। त्यस विषयमा सबै अध्ययन गरेर बाहिर ल्याई जनतालाई प्रष्ट पार्नु पर्छ’ तुम्बाहाङफेले भनिन्, ‘एमसीसीका विषयमा राम्रोसँग नबुझेर हचुवाको भरमा पारित गर्न पार्टीले भूमिका खेल्नु हुँदैन।’
तर, सांसद निरुदेवी पालले जनताले नो एमसीसी भनेकाले दलले लानु पर्छ भनेर निर्णय गर्न नहुने बताएकी छन्। एमसीसीका विषयमा आमजनतामा नकारात्मक छाप परेकाले एमालेले त्यसलाई बोकेर जान नहुने पालको भनाइ छ।
पालकै धारणलाई समथर्न जनाउँदै सांसद गंगा चौधरीले एमसीसी कुनै हालतमा पारित हुन नहुने बताइन्। ‘आज देशभर एमसीसीको विरोधमा आवाज उठेको छ। एमालले यसलाई सम्बाेधन गर्दै देश बचाउन नेपाल कम्युनिस्ट पार्टीले बचाउने आस छ। एमसीसी पास गर्न हुँदैन’ चौधरीले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।