फाइल तस्बिर।
काठमाडौं- नेकपा (एमाले)का सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाप्रति तीव्र आक्रोश व्यक्त गरेका छन्। बुधबार संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा सांसदहरुले सभामुखको राजीनामा माग्नुपर्ने, उनलाई बैठक चलाउन दिन नहुनेसम्मका अभिव्यक्ति राखे।
संघीय संसद्को अधिवेशन बुधबार ४ बजेबाट सुरु हुँदैछ। त्यसअघि आरणा बनाउन एमालेले संसदीय दलको बैठक आयोजना गरेको हो। बैठकमा अध्यादेशदेखि एमसीसीसम्मका विषयमा सांसद्हरुले धारणा राखेका थिए।
बैठकमा २५ सांसद्हरुले आफ्नो धारणा राखेका थिए।
सभामुखप्रति एमाले सांसदका प्रतिनिधिमूलक धारणा :
खगराज अधिकारी- (एकीकृत समाजवादीका सांसद्हरुलाई) संसद्मा र संसद्का समितिमा समेत प्रवेश गर्न दिनु हुँदैन। अनधिकृत भनेर सर्वोच्चले बोलिसकेकाले उक्त मुद्दा नटुङ्गिएसम्म दिन हुँदैन।
गोकुल बाँस्कोटा- यस्तो अवस्थामा पनि सदन चलाउन खोज्छन् भनेर सभामुखको राजीनामा मागेरै जानुपर्छ। राजीनामा दिने कि नदिने उनको कुरा हो।
महेश बस्नेत- सभामुखको भूमिका संवैधानिक दायित्व पूरा गर्नुपर्नेतर्फ हुनुपर्ने थियो, तर त्यो देखिएन। अभिभावकको भूमिका नगरेर निश्चित दलको कार्यकर्ता बने। संसद् अवरुद्व गर्ने भन्दा पनि उचित जवाफ खोज्नुपर्छ। महाअभियोगसम्म हामी जानुपर्छ।
कृष्णभक्त पोखरेल- सभामुखले जुन अधिकार प्रयोग गर्नु भयो त्यो अधिकार कहाँबाट प्रयोग गर्नु भयो? राजनीतिक दल सम्बन्धी ऐन र नियमावलीले यो अधिकार दिएको छैन। एमालले जवाफ खोज्नुपर्छ। पार्टीले कारबाही सिफारिस गरेको पत्रलाई जाँचबुझ गर्ने भनेर एमाले विभाजन गर्ने कुरामा सभामुख लाग्ने अधिकार कानुनले दिँदैन।
घनश्याम खतिवडा- सभामुखले जुन ढंगको रोल प्रस्तुत गर्नुभयो, तल जनतामा समेत राम्रो सन्देश गएको छैन। संसद् नेकपा एमालेले चल्न दिनुहुँदैन। सभामुखलाई ठेगान गर्नुपर्छ भन्ने छ। सभामुख अग्निप्रसाद सापकोटालाई चलाउन दिनुहुँदैन भन्ने नै जनताको मत छ।
शिवमाया तुम्बाहाङ्फे- सभामुखको भूमिका अनुचित छ। गैरकानुनी छ।
निरुदेवी पाल- यो संसद्को प्रमुख बन्ने उहाँ (सभामुख सापकोटा) को चरित्र छैन। सभामुखकोमा बारम्बार ताकेता गर्न जाँदा जुन खालको व्यवहार देखाउनुभयो। व्यक्ति हेरेर नीति नियम कानुन फरक हुनु हुँदैन । कुनै पनि हालतमा एमाले विभाजनको मतियार बनेका सभामुखको राजीनामा माग्नेतर्फ अघि बढ्नुपर्छ।
भगवती न्यौपाने- सदन चल्न दिनुहुँदैन भन्ने कुरा म प्रष्टसँग राख्न चाहन्छु।
लालबाबु पण्डित- संसद्मा राष्ट्रपतिको पत्र पढिसकेपछि हाम्रो पार्टीको तर्फबाट हामीले जे उठाउन खोजिरहेका छौं। नेतृत्वले प्रस्तुत गर्नुपर्छ। त्यसपछि अध्यादेशलाई टेबुल गर्न दिनुपर्छ। पार्टीका नेताहरु बोलिरहनुपर्छ। जबसम्म उचित जवाफ आउँदैन। तबसम्म सदन चल्न दिनु हुँदैन।
राजेन्द्र गौतम- एकातिर संवैधानिक र कानुनी हिसाबमा सर्वोच्च अदालतमा हामी लडाइँ लडिरहेका छौं। निर्णय नआएसम्म सभामुखलाई सदन चलाउन दिनुहुन्न।
गंगा चौधरी- सभामुखले संसदीय प्रणालीको धज्जी उडाइरहेका छन्। उनलाई सभामुखको कुर्सीमा बस्ने अधिकार छैन। बस्न दिनुहुन्न।
नवराज सिलवाल- सभामुखले शपथ ग्रहण गरेपछि पार्टी र व्यक्तिभन्दा माथिको संस्था हो। तर, अहिलेका सभामुख दलभन्दा माथि भन्ने संविधानको मर्म अनुसार अघि बढेको देखिँदैन। सभामुखको सम्बन्धमा हाम्रो दलले गम्भीर रुपमा सोच्नुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।