काठमाडाैं– नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारले एमाले विभाजनका लागि अध्यादेश ल्याएको बताएका छन्। सरकारको योजना सफल भएपछि संसदकाे अधिवेशन बोलाएको उनकाे भनाइ छ। एमाले संसदीय दलको बैठकमा सम्बाेधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
‘केही साथीहरुले दल विभाजन गर्नुभयो। समान धारणा र विचार भएमा दल सञ्चालन गर्न सकिन्छ भन्ने बझाइ छ,’ उनले भने, ‘विचारधारामा कहाँ फरक देखियो। व्यक्तिगत विवाद र कुन्ठालाई लिएर साथीहरुले विवाद गरेर जानु भयो । गएका साथीहरुलाई फर्कनुस् भनिसकेको छ । सेटिङ कामकारवाही चलेको देखिन्छ।
साउन ३२ तिर अफगानिस्तानको विषयमा कुरा उठिरहेकाे र सभामुखले रुलिङसमेत गरेको अवस्था अधिवेशन अन्त्य भएको उनले बताए।
‘सरकारले अधिवेशन अन्त्य गरेर हाम्रो दल फुटाउने काम गरिरहेको छ भनेर प्रश्न गरेका थियौ,’ उनले भने, ‘हामीले यो प्रश्न उठाउँदा एमालेले उठाउँछ भनियो। अन्तिम दिनको बैठकमा अफगानिस्तानबारे हामीले कुरा उठायौं। सभामुखले रुलिङ गर्नु भयो। एकैछिनपछि संसद् अधिवेशन अन्त्य भएको भन्नुभयो।’
जानकारी नदिइमात्र हाेइन झुक्याएर संसद् अधिवेशन अन्त्य गरिएको आरोप उनले लगाए। १४ जनालाई कारबाही गरेको पत्र दर्ता भएपछि मात्र अध्यादेश जारी गरेर निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया सुरु भएको उनले दावी गरे। ‘यहाँ प्रश्न उठ्छ यस्तै अध्यादेश केपी शर्मा ओलीले पनि ल्याउनुभएको थियाे,’ उनले भने, ‘त्यतिवेला प्रधानमन्त्रीले लोकतन्त्रलाई बलियो बनाउन ल्याएको भन्नु भएको थियो।’
१४ जना सांसदलाई कारवाही नहुने तर सरिता गिरिदेखि टोपबहादुर रायमाझीसम्मका साथीहरुमाथि तत्काल निलम्वन गर्ने सभामुखले गर्दै एकपक्षीय निर्णय गरेको उनले दावी गरे। सभामुखले एमालेका साथीहरु जाँदा नियम,संविधान र कानुन भनी अल्झाएको आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।