काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले संसद् बैठकमा अनिवार्य रुपमा उपस्थित हुन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन्।
मंगलबार अपराह्न बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले बुधबारबाट सुरु हुने संघीय संसद्को दुवै सदनको बैठकमा अनिवार्य रुपमा उपस्थित भएर प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन्।
प्रधानमन्त्री देउवाले बुधबारबाट सुरु हुने संसद् बैठकमा अनिवार्य रुपमा उपस्थित भइ पार्टीका सांसदहरुलाई प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएको पार्टी संसदीय दलकी सचेतक पुष्पा भुसालले जानकारी दिइन्। उनले भनिन्, ‘आजको बैठकमा विशेषगरी बैठकमा अध्यक्षता गर्नुभएका सम्माननीय प्रधानमन्त्रीज्यूले भोलिको बैठकमा सबै माननीयज्यूहरुलाई अनिवार्य उपस्थित भएर प्रभावकारी भूमिकाहरु खेल्न, सबै दलहरुसँग परामर्श गरेर मन्त्रालयलाई शीघ्र पूर्णता दिने बताउनुभएको छ।’
बैठकमा सांसदहरुले सत्तारुढ दलहरुसँग परामर्श गरेर मन्त्रिपरिषदलाई छिटो पूर्णता दिन पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए भने प्रधानमन्त्री देउवाले सबै दलसँग सम्वाद गरेर एमसीसीलाई पनि अघि बढाउने धारणा राखेका थिए। एमसीसीबारे अघिल्ला सरकारहरुले पनि कानुन प्रक्रिया अघि बढाएकाले यसलाई अन्य दलहरुसँग पनि विस्तृत छलफल गरेर अघि बढाउने धारणा प्रधानमन्त्रीले दलको बैठकमा राखेको सचेत भुसालले बताइन्।
कांग्रेस संसदीय दलले संघीय संसद्को बुधबारबाट सुरु हुने बैठकमा संसद्मा विचाराधीन अध्यादेश तथा विधेयकहरु पारित गरेर जाने निर्णय पनि गरेको छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद्मा विचाराधीन राजनीतिक दलसम्बन्धी अध्यादेशलगायतका अध्यादेश र विधेयकहरु संसद्को पहिलो बैठकबाटै छलफलका लागि अघि बढाउने जानकारी गराएका थिए। गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनाका सम्बन्धमा भारत सरकारलाई पठाइएको कूटनीतिक नोटबारे पनि बुधबारकै बैठकमा संसद्लाई जानकारी गराउने बताएका थिए। दार्चुला घटनाका सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ संसद्को पहिलो बैठकमा गृहमन्त्री खाँणले जानकारी गराउने विषयमा पनि दलको बैठकमा छलफल गरिएको सचेतक भुसालले बताइन्।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सँग छलफल गरी बजेटसम्बन्धी अध्यादेश पनि पारित गर्ने विषयमा पनि बैठकमा छलफल गरिएको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।