काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्मा छलफल गर्नुपर्ने बताएका छन्।
पक्ष/विपक्षमा मत संसद्मै प्रस्तुत गर्नुपर्ने उनले बताएका छन्। मंगलबार कांग्रेसको संसदीय दलको बैठकमा बोल्ने क्रममा देउवाले संसद्मा एमसीसी छलफल गर्न प्रस्तुत गर्दैमा पारित भएको रुपमा बुझ्न नहुने धारणा राखे।
एमसीसीको छिनोफानो संसद्बाट हुनुपर्ने देउवाको भनाइ छ। बुधबार बोलाइएको संसद् बैठकमा एमसीसी पेस गर्ने देउवाले संकेत गरेका छन्।
देउवाको भनाइ उदृत गर्दै सांसद तेजुलाल चौधरीले भने, ‘पेस गर्दैमा पास हुने होइन। पक्ष विपक्षमा संसद्मा बोल्न पाइन्छ। सरकारमा सहभागी अरु दलले पक्षमा मत नदिए पारित हुन्न।’
प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओली सत्तामा रहँदा एमसीसीको पक्षमा बोलेको स्मरण गर्दै देउवाले हाल उनको बोली फेरिएको सांसदहरुलाई सुनाएका थिए। अमेरिकी सेना आउने अनावश्यक हल्ला फिंजाएकोप्रति देउवाले आपत्ति जनाएका थिए।
एमसीसी अनुदान लिएका कतिपय देशले पुनः सम्झौता अघि बढाएको पनि उनले सुनाएका थिए। अनुदानमा प्राप्त हुने रकमलाई संसद्बाट पारित गर्नुपर्ने ‘अनावश्यक झन्झट’ राखिएकोप्रति उनको असन्तुष्टि थियो।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको समयमा एमसीसीको विषय सुरु भई आफ्नो कार्यकालमा सम्झौता भएको उनले स्मरण गरे। पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले संसद्बाट पारित हुनुपर्ने प्रावधान थपेको उनको भनाइ थियो।
दलहरुबीच छलफलको वातावरण संसद्मा बन्ने भएकाले एमसीसी पेस गर्नुपर्ने तर्क अन्य सांसदले पनि उठाएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।