काठमाडौं- विभिन्न राजनीतिक दलका छ वटा किसान संगठनले एमसीसी सम्झौता राष्ट्रघाती रहेको भन्दै खारेज गर्न माग गरेका छन्।
आज संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले नेपालको सार्वभौमसत्ता, संविधान, जनताको हक, हित र अधिकारविपरीतको सम्झौता अविलम्ब खारेज गर्न सरकार राजनीतिक दलहरूसमक्ष माग गरेका हुन्।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन, अखिल नेपाल प्रगतिशील किसान संघले आज विज्ञप्ति जारी गर्दै अमेरिकी परियोजनाबाट सहयोग लिने गरी राष्ट्रिय हितविपरीत विवादित सम्झौता खारेज हुनुपर्ने बताएका हुन्।
‘तर, केही राजनीतिकदलहरूको गम्भीर असहमति र नेपालीजनताको व्यापक प्रतिरोधका कारण विगत लामो समयदेखि संसद्मा प्रस्तुत नभएको सो सम्झौतालाई जनभावनाविपरीत जबरजस्ती संसद्बाट अनुमोदन गर्न लागिएको भन्ने समाचारहरू आइरहेको र एमसीसीको विरोध गर्न नपाइने र गर्नेहरूलाई नेपाल सरकारले सूक्ष्मरूपले निगरानी गरिरहेको भन्ने नेपाल सरकार, गृह मन्त्रालयद्वारा पटक-पटक जारी गरिएका विज्ञप्तिहरूप्रति देशका जिम्मेवार किसान संगठनहरूको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
गृह मन्त्रालयद्वारा एमसीसीको विरोध गर्न र त्यसविरुद्ध प्रदर्शनमा भाग लिन नपाउने उल्लेख गर्दै एमसीसीको विरोध गर्नेहरूको सूक्ष्म निगरानी गरिने भन्ने धम्कीपूर्ण विषयप्रति पनि खेद व्यक्ति गरिएको छ।
‘जुनसुकै दातृ निकायले दिने, जतिसुकै ठूलो परियोजना वा जतिसुकै धेरै रकम होस्, त्यो हाम्रो राष्ट्रिय स्वाभिमान, स्वाधीनता र देशको गरिमाभन्दा माथि हुन सक्दैन,’ किसान संगठनहरुले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।