काठमाडौं– विवेकशील साझा पार्टीले अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता हुबहु पारित गर्ने तयारी अत्यन्त आपत्तिजनक भएको जनाएको छ।
प्रवक्ता शरदराज पाठकले मंगलबार एक विज्ञप्ति जारी गर्दै विवादित एमसीसी कम्प्याक्ट सम्झौताको आपत्तिजनक शर्तहरू संशोधन नगरी यथावत् संसद्बाट पारित गर्न सरकारले अन्तिम तयारी अघि बढाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छन्।
‘एमसीसी सम्झौताका केही शर्तहरू अत्यन्त आपत्तिजनक एवम् नेपालको राष्ट्रिय स्वाभिमान र हित प्रतिकुल रहेकाले संशोधनबिना नै पारित गरिनुहुन्न भन्ने हाम्रो पार्टीको धारणा छ,’ पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
एमसीसी सम्झौताबारे आम नागरिकको तप्कासम्म धेरै नै संशय उत्पन्न भइ गम्भीर प्रश्न उठेकाले तिनको निरूपण नगरी अघि बढ्नु घातक हुने विवेकशील साझाको भनाइ छ।
श्रीलङ्काको जस्तै नेपालमा पनि यो सम्झौता अध्ययन गरी सरकारलाई सुझाव दिन स्वतन्त्र विज्ञहरूको कार्यदल गठन गर्नु उपयुक्त हुने पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ। नभए सम्झौता खारेज गर्नु नै उपयुक्त हुने विवेकशील साझा पार्टीको धारणा रहेको विज्ञप्तिमा जनाइएको छ।
सहयोगको सम्झौतामा सार्वभौम सत्तामाथि हस्तक्षेप गर्ने एवम् राष्ट्रिय हित र स्वाधीनता कमजोर बनाउने सर्त गाँसिएर आउँछन् भने त्यो कदापि स्विकार्न नसकिने विज्ञप्तिमा उल्लेख छ।
राजनीतिक दल, बुद्धिजीवी र वैदेशिक सहायताबारे जानकार विज्ञहरू बीच नै तीव्र विभाजन रहेको एमसीसी सम्झौता सरकारले जनआवाज नसुनी सत्ता समीकरणको बलमा हुबहु पारित गराउन लागे त्यसको विरुद्धमा कडा संघर्षका कार्यक्रम गर्न बाध्य हुने विवेकशील साझाले चेतावनी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।