काठमाडौं- राष्ट्रिय जनमोर्चा काठमाडौं जिल्ला समितिले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ।
'राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, अमेरिकी साम्राज्यवादविरूद्ध राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर' भन्दै काठमाडौंको शान्तिवाटिकामा प्रदर्शन तथा खबरदारी सभा आयोजना गरिएको हो
विरोध तथा खबरदारी सभालाई सम्बोधन गर्दै नेकपा मसालका केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीले एमसीसी परियोजना नेपालको हितविपरीत रहेको भन्दै खारेजी हुनुपर्ने बताए। मुलुकमा व्याप्त भ्रष्टाचार न्यूनीकरण गर्न सके देशको विकासका लागि विदेशीको मुख ताक्नुपर्ने अवस्था नआउने प्रवक्ता पुरीले बताए। एमसीसी परियोजना खारेज गरेर भ्रष्टाचार नियन्त्रण गर्नेतर्फ लाग्नुपर्नेमा उनले जोड दिए।
राष्ट्रिय जनमोर्चानिकट अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष तथा पूर्वसांसद मीना पुनले एमसीसी परियोजना कार्यान्वयनमा आए मुलुकको राष्ट्रियता र स्वाधीनतामा गम्भीर असर पर्ने बताइन्। उनले एमसीसी परियोजना खारेज नभएसम्म आम जनसमुदायले खबरदारी जारी राख्नुपर्ने आवश्यकता औँल्याइन्।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका अध्यक्ष लालबहादुर थापाले विकास निर्माणका नाममा साम्राज्यवादी सर्त स्वीकार गर्न नसकिने बताए। उनले ५०/६० अर्ब रुपैयाँका लागि नेपालको सार्वभौमिकतामाथि आँच आउने काम कुनै पनि हालतमा हुन नहुने बताए। एमसीसी परियोजना संसद्बाट कुनै पनि हालतमा पास गर्न नहुनेमा थापाले जोड दिए।
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष झविन्द्र बेलवासेले विगतका सन्धि सम्झौताहरूभन्दा पनि एमसीसी परियोजना अझ बढी घातक सावित हुने बताए। उनले एमसीसी सम्झौता लामो समयसम्म गुपचुप राखिएको भन्दै अहिले संसद्बाट जसरी पनि पास गर्ने भन्ने सरकारको प्रयास आपत्तिजनक भएको बताए। उनले एमसीसी संसद्बाट पास भए नेपाल अमेरिकी साम्राज्यवादको अखडा बन्ने दाबी गरे।

नेकपा मसालका जिल्ला प्रवक्ता तथा नेता जगत रेग्मीले एमसीसीको पुष्ठभूमिसहित नेपालमा किन एमसीसी लागू गर्न खोजिँदै छ भन्ने स्पष्ट पारेका थिए। ‘अमेरिकाको ट्विन टावरमाथि भएको आतंकवादी हमलापछि त्यहाँको संसद्ले सन् २००३ मा अमेरीकाले गरिब राष्ट्रहरुमा लगानी लगाउनुपर्दछ र त्यो लगानी अमेरिकाको स्वार्थअनुसार हुनुपर्दछ भन्ने कानुन पारित गरेको थियो र त्यसैअनुसार सन् २००४ मा एमसीसी गठन गरेको हो,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।