काठमाडौं- नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले विभाजनमा लागेकाहरू पार्टीमा फर्किए एमालेले क्षमादान दिने बताएका छन्।
मंगलबार नेकपा (एमाले) कास्कीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पाण्डेले विभाजनमा लागेकाहरूलाई फर्किन आग्रह गरे। ‘माधवजीले जुन पार्टी विभाजनको बाटोमा अगुवाइ गर्नुभो। यो नोक्सानको बाटो आर्जन गर्नुभो,’ उनले भने, ‘नेपालको कम्युनिस्ट आन्दोलन कमजोर पार्ने काम भयो। विभाजनमा लागेर कम्युनिस्ट आन्दोलन बलियो हुने होइन कमजोर हुन्छ।’
उनले माधवकुमार नेपाल लगायतलाई अन्तिमसमयसम्म पनि पार्टी नछोड्न आग्रह गरेपनि प्रयास सफल हुन नसकेको बताए। ‘कार्यदलमा रहेका मसहितका केही साथीहरुले धोका दिनुभो भनेर भन्ने गरेका छन,’ उनले भने, ‘माधव नेपालसहितका साथीहरुले पार्टीलाई फुटाएर गएर धोका दिनुभयो। हामी एकताकै पक्षमा थियौं।’
उनले कार्यदलले एमालेलाई एकताबद्ध बनाउन आशिंक रुपमा सफल भएपनि आशिंक रुपमा नै असफल पनि भएको बताए। ‘२०५४ सालमा पार्टी विभाजन हुँदा वामदेवजीले शक्ति आर्जन हुन्छ भन्नु हुन्थ्यो। पछि विभाजन भएर शक्ति बढ्ने रहेनछ। मैले गल्ती गरेँ भन्नुभयो,’ उनले भने, ‘अहिले गएका साथीहरुले पनि भोलि त्यो बुझ्नुहोला।’
माधव नेपालले अर्को पार्टी बनाउने कुरा गलत रहेको भन्दै उनले यसको मुकाविला गर्दै सुदृढ नेकपा (एमाले) बनाउनेतिर सबै लाग्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।