काठमाडौं- विभाजित दल रोज्नका लागि जनप्रतिनिधिहरुलाई उपलब्ध गराइएको समय आज सकिँदैछ।
राजनीतिक दल सम्बन्धी अध्यादेश जारी भएसँगै नेकपा एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी(जसपा)बाट लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) निर्वाचन आयोगमा दर्ता भएका थिए।
निर्वाचन आयोगमा उपस्थित भएर एमाले र जसपाका सांसद र केन्द्रीय सदस्यहरुले सनाखत गरेसँगै निर्वाचन आयोगले दुई नयाँ दललाई मान्यता दिएको थियो।
निर्वाचन आयोगले भदौ ९ गते एमाले विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई दर्ताको प्रमाणपत्र दिएको थियो।
यससँगै विभाजित दलमा जान चाहनेहरुका लागि २१ दिनको समय उपलब्ध गराइएको थियो, जसको समय आज सकिँदैछ। आजसम्ममा दल परिवर्तन गर्ने जनप्रतिनिधिको पद गुम्ने छैन।
यसका लागि केन्द्रमा निर्वाचन आयोगमा, प्रदेशमा आयोगको प्रदेश कार्यालयमा र स्थानीय तहका जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्न सकिने व्यवस्था गरिएको छ।
यसबीचमा नेकपा एमाले छाडेर प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधले एकीकृत समाजवादी रोजेका छन् भने जसपा छाडेर लोसपा रोजेका छन्। सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ। सुदूरपश्चिम प्रदेश सभामा उक्त दलका प्रदेश सभा सदस्यहरुको संख्या १४ पुगेको छ। सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेका सांसद संख्या अब १० जना मात्रै रहेको छ।
उता प्रदेश २ मा जसपा छाडेर लोसपा रोज्ने प्रदेशसभा सदस्यको संख्या १६ पुगेको छ। अब जसपामा २८ सांसद बाँकी छन्। प्रदेश दुईमा एमाले भन्दा एकीकृत समाजवादी ठूलो पार्टी भएको छ। संसदीय दलका २१ मध्ये ११ जनाले एकीकृत समाजवादी रोजेका हुन्।
त्यस्तै बागमती प्रदेशमा एमालेका ५६ जना सांसद मध्ये एकीकृत समाजवादीमा १३ जना सांसदले सनाखत गरेका छन्। त्यस्तै प्रदेश १ मा नेकपा (एमाले)बाट विजयी दश जना प्रदेश सांसदले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्।
कर्णाली प्रदेश सभाका तीनजना प्रदेश सभा सदस्यले एमाले छोडेर नयाँ पार्टी एकीकृत समाजवादी रोजेका छन्। कर्णाली प्रदेश सभामा एमालेका २० सांसद थिए। लुम्बिनी प्रदेशमा नेकपा एमालेका १ जना प्रदेश सभा सदस्यले एकीकृत समाजवादी रोजेका छन्।
त्यस्तै विभिन्न स्थानीय तहका जनप्रतिनिधले पनि एमाले छाडेर एकीकृत समाजवादी र जसपा छाडेर लोसपाको पक्षमा हस्ताक्षर गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।